नेपाली चियामा भारतले अवरोध गर्दा एक हप्तादेखि निर्यात ठप्प

 मंसिर ६, २०७८ सोमबार १०:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ  । एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फिक्कलका इन्द्र अधिकारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार निर्यात खुलाउन काठमाण्डौमा रहेको भारतीय दूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्यदूतको कार्यलयमा हिजो पत्र पठाइसकिएको छ। यसबारे दुई देशबीच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उहाँले जानकारी दिनु भयो ।

भारत पठाउन लागिएको १५ हजार किलो चिया झापाको काँकडभिट्टाको भन्सार कार्यलयमा नै रोकिएको चिया उद्यमी ग्रीनहील टि इन्डस्ट्री प्रालिका प्रोप्राइटर टङ्क दाहालले बताउनु भयो । भारतको टि बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लङ्घन गरेको उहाँको गुनासो छ ।

नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया