एमालेलाई नसकेपछि प्रचण्ड अहिले कांग्रेसलाई बिगार्न पछि लागेका छन् : केपी ओली

 मंसिर ८, २०७८ बुधबार १८:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसियार रहन आग्रह गर्नुभएको हो । 

आज बुधवार काठमाण्डाैमा पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले कांग्रेसलाई बिगार्न हात समातेकाे दाबीसमेत गर्नुभयो । उहाँले आफूहरूलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको समेत भन्न भ्याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिस्ट पार्टी फुटाएर चोइटो लिएर कुद्ने त्यस्ताहरूको पछि लागेर देश बन्छ ? प्रचण्डले सधैँ समस्या खडा गर्न, हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप । कहाँ बिग्रिन्छ एमाले ? अब कांग्रेसलाई समातेछन् । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु– कांग्रेस होसियार । प्रचण्डले भ्याइ दिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्नसमेत पटक–पटक आग्रह गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर देशलाई डरलाग्दो अवस्था पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साइबर सर्कललाई आग्रह गर्नुभयो । उहाँले देश, राष्ट्रियता, देशको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चार माध्यमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया