ठूला दललाई महाधिवेशनको चटारो : नेतृत्वमा नयाँ आउने सम्भावना कम

 मंसिर ९, २०७८ बिहिबार १३:२५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

मुख्य दलहरु एमाले र कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छन्। वडादेखि जिल्ला अधिवेशन सकेर एमाले राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ भने कांग्रेसमा क्षेत्रीय तथा जिल्ला अधिवेशन भइरहेको छ । 

माओवादी पनि पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । एमाले महाधिवेशन सकिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु हुँदैछ। यसअघि सीपी मैनाली नेतृत्वको नेकपा मालेले आफ्नो आठौँ अधिवेशन सम्पन्न गरिसकेको छ । मालेको महासचिवमा सीपी मैनाली नै दोहोरिनु भएको छ भने महाधिवेशनको तयारीमा रहेका कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा पनि नयाँ अनुहार आउने सम्भावना कम छ । 

हुन त एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ, तर एमालेमा केपी ओली सर्वसम्मत जस्तै देखिनुभएको छ । कांग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच कडा टक्कर देखिन्छ । राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा तथा प्रकाशचन्द्र लोहनीलाई यस पटक झापाका राजेन्द्र लिङ्देनले चुनौती दिँदै हुनुहुन्छ । 

एमालेमय चितवन

एमालेको महाधिवेशन १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनका लागि एमालेले कात्तिक २६ गते गैँडाको मस्कटसहितको लोगो सार्वजनिक गरेको थियो । लोगोमा गैैँडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा समातेको छ । 

महाअधिवेशन उद्घाटन सत्रमा पाँच लाखको सहभागिता रहने एमालेले दाबी गरेको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ राखिएको छ । मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडाको मस्कट रहनेछ । त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी हुनेछ ।

भीड नियन्त्रण गर्न पाँच ठाउँमा डोरीको छेकबार हुनेछ भने दुई वटा ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने एमालेले जनाएको छ । यसपटक एमालेको महाधिवेशनमा एक सय विद्युतीय मतदान मेसिन (ईभीएम) को प्रयोग हुँदैछ । जसमा १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, अनुशासन र लेखा आयोगका ३० सदस्यीय निर्वाचनका लागि ईभीएम प्रयोगको तयारी छ ।

अध्यक्ष केपी ओलीको सर्वसम्मत उम्मेदवारी चयनको निर्देशनलाई तल्लो तहले माने पनि सचिव, महासचिव, उपाध्यक्षमा प्रतिस्पर्धा हुने अनुमान छ । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणाले सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहनामा ठेस पुगेको छ । 

कांग्रेसमा देउवा र पौडेलबीच प्रतिस्पर्धा

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ । अहिले विभिन्न जिल्लामा क्षेत्रीय तथा जिल्ला अधिवेशन भइरहेको छ । केही ठाउँमा भने विवादका कारण वडा अधिवेशन नै सुरु हुन सकेको छैन । 

अहिलेसम्म अधिवेशन सम्पन्न भएका जिल्लाको स्थिति हेर्दा देउवा तथा पौडेल पक्षबीच कसिलो प्रतिस्पर्धा हुने देखिएको छ ।  कांग्रेसको निर्वाचन निर्देशिका २०७८ अनुसार प्रत्येक वडाबाट सभापतिसहित कम्तीमा १६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

एक सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडाबाट १६ जना, दुई सय ५० जनासम्म क्रियाशील सदस्यता भएको वडाबाट २६ जना, तीन सय ५० जनासम्म क्रियाशील सदस्यता भएको वडाबाट ३६ जना, चार सय ५० जनासम्म क्रियाशील सदस्यता भएको वडाबाट ४६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।

त्यस्तै पाँच सय ५० जना क्रियाशील सदस्यता भएको वडाबाट ५६ जना, ६ सय ५० जनासम्म क्रियाशील सदस्यता भएको वडाबाट ६६ जना, ६ सय ७० जनासम्म क्रियाशील सदस्यता भएको वडाबाट ६६ जना र सातसय ५० जना क्रियाशील सदस्यता वा त्योभन्दा बढी भएको वडाबाट ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

साढे आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेको कांग्रेसमा ७५ वर्षभन्दा माथि उमेरका क्रियाशील सदस्य १२ हजारको हाराहारीमा रहेका छन् ।  कांग्रेसमा १८ देखि ४० वर्ष उमेर समूहका क्रियाशील सदस्य ३३ प्रतिशत र १८ देखि २४ वर्ष उमेर समूहका क्रियाशील सदस्य झण्डै पचास हजार छ । 

कांग्रेसले अहिलेसम्म २५ जिल्लाको अधिवेशन सकाएको छ । १४ हिमाली जिल्लामा भने पहिले नै अधिवेशन सम्पन्न भइसकेको छ । एक मात्र सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा भने मंसिर ६ गतेदेखि अधिवेशन भइरहेको छ । एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा १० गते अधिवेशन हुँदैछ । 

माओवादीको राष्ट्रिय सम्मेलन पुसमा

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ । मंसिर ६ गते पार्टीको वडा सम्मेलन सकिइसकेको छ । वडामा कतै पनि चुनाव नभइ वडा सम्मेलन सर्वसम्मत भएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केहीमा बाँकी रहेको माओवादीले जनाएको छ । 

मंसिर ११ गते पालिका तथा २५ गते सातै प्रदेशमा सम्मेलन हुने निर्वाचन तालिकामा उल्लेख छ । पार्टीको अन्तरिम विधान २०७८ अनुसार केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । 

यसपटक हुने सम्मेलनले पार्टीको सबै तहको संरचनामा चुनाव गरी तीन लाखभन्दा बढीले जिम्मेवारी पाउनेछन् ।  साढे तीन दशकदेखि निरन्तर नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले पनि चुनौती दिने कोही देखिँदैन । नेकपा एमालेझैँ माओवादी केन्द्र पनि सर्वसम्मत नेतृत्वको पक्षमा छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १५ देखि १७ गतेसम्म काठमाण्डौमा महाधिवेशन तय गरेको छ । यसअघि ११ देखि १३ गतेको मिति तोकेको राप्रपाले विद्युतीय मतदान मेसिनका कारण महाधिवेशन सारेको हो । 
एमाले महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेसिन नै राप्रपा महाधिवेशनमा प्रयोग हुने भएपछि राप्रपाको महाधिवेशन चार दिनपछि सरेको हो । 

यसपटक राप्रपाको महाधिवेशनमा ४ हजार ५ सय प्रतिनिधि रहनेछन् । मंसिर ६, ७ र ८ गते राप्रपाले देशभर प्रतिनिधिको छनोट गर्ने कार्यक्रम रहेको छ । राप्रपाले यसअघि भएको दुई वटा महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरेको थियो । २०७१ सालमा राप्रपा नेपाल र २०७३ सालमा राप्रपाको एकता महाधिवेशनमा ईभीएमको प्रयोग भएको थियो । 

तर, २०७३ मा प्रदीप राणाले कमल थापाविरुद्ध उम्मेदवारी दिएपछि अध्यक्षको चुनावमा कागजी मतपत्र प्रयोग गरेको थियो । केन्द्रीय सदस्यको निर्वाचन भने ईभीएमबाट गरेको थियो । राप्रपाको ३१ वर्षे इतिहासमा पहिलो पटक पदाधिकारीको प्रत्यक्ष चुनाव हुन लागेको हो । यसपटक अध्यक्षका लागि कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीका साथै राजेन्द्र लिङ्देनले पनि प्रतिस्पर्धा गर्न लाग्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया