बजारको फोहरले दुर्गन्धित बन्दै सेती नदी

 मंसिर ९, २०७८ बिहिबार १४:३४:५५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा रहेको सेती नदी दुर्गन्धित बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधै सेती नदीमा फालिने गरेका कारण नदी दुर्गन्धित बन्दै गएको हो । यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिकलगायतका फोहर सिधै सेती नदीमा फाल्ने गरेका कारण नदी दुर्गन्धित बन्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयवासीले ढल सिधै नदीमा फाल्ने गरेका छन्, जसले गर्दा सेती नदी दुर्गन्धित बन्दै गएको छ ।’

बजारमा निस्किने फोहर तथा व्यापारीले ढल नदीमा मिसाउने विषयमा पटक–पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदा समेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ । नगरपालिकाले भने बजारबाट निस्किने फोहर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या भएको जनाउँदै आएको छ । 

धार्मिक आस्था बोकेको सेती नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै नदीमा क्षारको मात्रा बढ्दै गएको अर्का स्थानीयवासी घनश्याम पाठकले बताउनुभयो । नदीमा फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणीहरू हराउँदै जान थालेका उहाँको भनाइ छ । 

स्थानीयवासीले सेतीको पानी खानका लागि प्रयोग गर्ने भएकाले नदी फोहर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न रोगको सङ्क्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायलमा पानीको समस्या छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन्, त्यही पानी फोहर भएपछि रोगको सङ्क्रमण बढ्ने नै भयो ।’

नदी किनारका स्थानीयवासीले नदीको पानी खानका लागि प्रयोग गर्ने, नुहाउन प्रयोग गर्ने, गाईवस्तुलाई खुवाउने लगायतमा प्रयोग गर्दै आएका छन् । डोटीको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन् ।

खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मा पालिकाको भए पनि उनीहरूले पहल नगरेका कारण यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले गुनासो गर्नुभयो ।

घर तथा बजारबाट निस्किने फोहर नदी, खोलामा सिधै फाल्न नपाउने कानुनी व्यवस्था भए पनि त्यसको बेवास्ता गर्दा यस्तो समस्या भएको कानुन व्यवसायी शंकरदीप मडैले बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नदी तथा खोलामा सिधै फोहर व्यवस्थापन गर्न नपाइने कानुनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भयो ।’ 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया