सङ्खुवासभा अस्पतालमा विशेषज्ञ सेवा सुरु, बाहिर 'रेफर' हुने बिरामीकाे सङ्ख्या घट्याे

 मंसिर ९, २०७८ बिहिबार २०:२१:५७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – केही दिन अगाडि निमोनियाबाट सिकिस्त हुनुभएकी सङ्खुवासभाको चिचिला गाउँपालिका २ दिदिङकी सरस्वती राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा नयाँ जीवन पाएझैँ भयाे । १५ वर्षीया सरस्वती निमाेनियाका कारण जीवन र मरणको दोसाँधमा हुनुहुन्थ्यो । जिल्ला अस्पताल सङ्खुवासभामा आठ दिन आईसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटरमा राखेर उपचार गरेपछि उहाँले नयाँ जीवन पाउनुभएको हो । उहाँकाे उपचार बाल रोग विशेषज्ञ डा. दीपेन्द्र राईको नेतृत्वकाे टाेलीले गरेकाे हाे । 

त्यसैगरी हात भाँचिएर हाडजोर्नीको समस्याबाट पीडित सभापोखरी गाउँपालिका ६ का ११ वर्षीय सिद्धार्थ विश्वकर्माले जिल्ला अस्पताल सङ्खुवासभामा नै उपचार पाएपछि राहत महसुस गर्नुभयो । जिल्ला अस्पताल सङ्खुवासभामा पहिलो पटक कसैकाे हाडजोर्नीको शल्यक्रिया गरिएको हो । 

​यी माथिका दुई घटना प्रतिनिधि मात्रै हुन् । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू, भेन्टिलेटर, हाडजोर्नीलगायतका नौ वटा विशेषज्ञ सेवा थप भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । जिल्लामा नै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आएपछि सरस्वतीकाे र हाडजोर्नी सेवा सुरु भएपछि विश्वकर्माले सेवा लिनुभएको हो । 

अहिले जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा डा. भीम लामाले हेर्दै आउनुभएको छ भने हाडजोर्नी विशेषज्ञ डा. गौरव भण्डारी, जनरल फिजिसियन स्मृति आचार्य र बाल रोग विशेषज्ञ डा. दीपेन्द्र राईले ओपीडीबाहेकको समय १ देखि ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सेवासमेत दिँदै आइरहनुभएको छ । 

जिल्ला अस्पताल सङ्खुवासभाका प्रशासन प्रमुख दिपेश श्रेष्ठले सरकारी अस्पतालाई गरिबको अस्पताल र नमुना अस्पताल बनाउन लागिपरेको बताउनुभयो । जिल्ला अस्पताल सङ्खुवासभामा पहिलो पटक विशेषज्ञ सेवासहितको सघन उपचार सेवा सुरु भएपछि स्थानीयवासीले धेरै पैसा खर्चेर अन्यत्रै जानुपर्ने बाध्यता हट्दै गएकाे प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।

त्यस्तै अस्पतालमा प्रयोगशालामा कल्चर सेवा सुरु भएसँगै रगत र पिसाब जाँच गरेर किटाणु पत्ता लगाएर प्रभावकारी औषधि प्रयोग गरी निको बनाउन सजिलो हुने अस्पताल व्यवस्थापनकाे भनाइ छ ।

वि.सं.२०३३ सालमा स्थापना भएको सङ्खुवासभा जिल्ला अस्पताल १५ बेडको थियो । अहिले स्तरोन्नति गरी ५० बेडको अस्पताल बनाइएको छ । अस्पतालको भौतिक संचरना निर्माणाधीन अवस्थामा रहेकाले पुरानै भवनमा सेवा सञ्चालन भइरहेको छ । 

अस्पतालमा भौतिक परिवर्तन मात्रै भन्दा पनि विशेषज्ञसहित गुणस्तरीय सेवा दिन आफूहरू लागिपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । उहाँले आईसीयू, भेन्टिलेटर सेवा, एनआईसीयू, सिकिस्त बिरामीहरूका लागि ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडीयू सेवा), हाडजोर्नी शल्यक्रिया सेवा सुरु भएपछि धेरै जटिल प्रकारका बिरामीहरूले सेवा पाएको महसुस गरेको बताउनुभयो ।    

अहिले जिल्ला अस्पतालबाट बाहिर रेफर हुने सङ्ख्यासमेत कम भएको अध्यक्ष शाक्यको भनाइ छ ।  

कुनिना सार्वजनिक शैक्षिक गुठीद्वारा विशेषज्ञ चिकित्सकलाई मासिक तीन लाख रुपैयाँ र अरुण तेस्रो जलविद्युत् परियोजनाबाट भेन्टिलेटरलगायतका विशेषज्ञ चिकित्सक सेवा सञ्चालनका लागि उपकरण सहयोग भएपछि विभिन्न सेवा दिन सम्भव भएको अस्पताल प्रशासनको भनाइ छ । 

अहिले अक्सिजन प्लान्ट निर्माणपछि यही अक्सिजन उत्पादन सुरु गर्न थालिएको छ । गरिब तथा असहाय बिरामीका लागि सामाजिक सेवा इकाइका साथै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गरी नमुना सरकारी अस्पताल बनाउने प्रयास भइरहेको अध्यक्ष शाक्यको भनाइ छ ।

जिल्ला अस्पताल सङ्खुवासभा (खाँदबारी) मा सरकारी र अन्य साझेदार संस्थाको पहलमा विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरिएको र दिगो व्यवस्थापनका लागि विशेष योजना बनाएर नागरिकलाई राहत महसुस गराउन पहल भइरहेको अस्पतालले जनाएकाे छ ।  

अहिले जिल्ला अस्पतालमा बिरामीकाे चाप पनि बढेकाे छ । सङ्खुवासभाको दुर्गम किमाथाङ्कादेखि भोजपुर जिल्लाबाट पनि बिरामी यहाँ आउने गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया