कालापानी र लिम्पियाधुरा बाहेकमा जनगणना सकियो, छाङरू र तिङ्कर पुगेका गणकलाई हेलिकप्टरमार्फत फर्काइयो

 मंसिर १०, २०७८ शुक्रबार ७:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो ।

जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । बिहान ११ बजे विभागमै पत्रकार सम्मेलन हुने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।

विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।

विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।

सडक सञ्जाल अप्ठ्याराे र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई हिजो हेलिकप्टरमार्फत त्यहाँबाट फर्काएको रेग्मीले जानकारी दिनुभयो । कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना गर्न भने बाँकी छ । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो ।

तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागको तयारी  छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया