एमाले महाधिवेशन : नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

 मंसिर १०, २०७८ शुक्रबार ७:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उहाँ बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् । आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास दिलाउनुभएको छ । तर अध्यक्षमा भीम रावललेसमेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ । 

महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकाङ्क्षी देखिएका छन् । महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकाङ्क्षा राखेका छन् । एमालेमा अहिले एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ ।

संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । यसमा १५ जना पदाधिकारी पनि पर्छन् । महाधिवेशनबाट दुई तिहाइ अर्थात एक सय ५० पुरुष र एक तिहाइ अर्थात ७५ महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । उनीहरूमध्ये ६० पुरुष र ३८ महिला खुला क्षेत्रबाट तथा सात प्रदेशबाट २८ पुरुष र १४ महिलासहित ४२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । एमालेमा नौवटा क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ । 
यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।

यही मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।

प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा पनि बन्देज

महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताउनुभयो । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उहाँले बताउनुभयो । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।

भोलि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । भोलि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । 

एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग

चुनावमा एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने छ । ९२ वटा मेसिनहरु चुनावका लागि प्रयोग गरिने र ३ वटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिने छ । ५ वटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । 

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा झण्डै २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् । मतदान सकिएको झण्डै दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । हरेक मेसिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्यो भन्दा चाँडो नतिजा आउन सक्छ ।  

नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछन् । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मतदान गर्न सहज बनाउन भोलि राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउने छ । १२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पुर्याइने छ ।

मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशित प्रति साथै लैजान छुट दिइने छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया