एमाले महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ : कमल थापा

 मंसिर १०, २०७८ शुक्रबार १४:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ ।

चितवनमा सुरु भएकाे एमालेको दशौँ महाधिवेशनकाे उद्घाटन समाराेहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो ।

ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी थियो । अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष थापाले अहिले देश सङ्कटको भुमरीमा परेको र यो सङ्कटबाट जोगाउन सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । देश सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै उहाँले नेपालीको धार्मिक पहिचान समाप्त पार्ने प्रयास भइरहेको, इतिहासमै भष्ट्राचार बढेको, युवाहरू खाडीमा पसिना बगाउन बाध्य भएको, बाह्य शक्तिको चलखेल र प्रभाव बढेको बताउनुभयो ।

उहाँले २०६२/०६३ को आन्दोलन र त्यसपछिको परिर्वतनबाट दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य राखेको भए पनि कहाँ पुगिएको छ भनेर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया