लिमीमा खाद्यान्न ओसार्न सेनाकाे हेलिकप्टर हुम्ला पुग्यो

 मंसिर १२, २०७८ आइतबार १९:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि साेमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उहाँले बताउनुभयो ।

हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बोरा मैदा र झन्डै आठ सय बोरा चामल छ । हिल्साबाट लिमी आउने बाटोमा बाक्लो हिउँ जमेका कारण चीनले दिएको खाद्यान्न ल्याउन नसकेको उहाँले बताउनुभयो । लिमीबाट हिल्साको हवाई दुरी छोटो भएकाले हेलिकप्टरले त्यहाँ रहेको सबै खाद्यान्न ओसार्ने आशा रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु भएपछि वडाध्यक्षसहित पाँच जना स्थानीयवासी हिउँ पन्छाउँदै सदरमुकाम आएका थिए भने वडाध्यक्ष तामाङ काठमाण्डौ आएर हारगुहार गर्नुभएको थियो । गृह मन्त्रालयको निर्देशनमा सेनाले हेलिकप्टर पठाएपछि तामाङ पनि सदरमुकाम सिमिकोट पुग्नुभएको छ भने अरू पाँच जना खाद्यान्न लोड गर्नका लागि हिउँ पन्छाउँदै हिल्सा पुगेका छन् । अब भने सदरमुकाम र हिल्साबाट खाद्यान्न पुर्‍याइने भएकाले गाउँको भोकमरी हट्ने विश्वास रहेको तामाङले बताउनुभयो । 

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुई/तीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसङ्ख्या भोकमरीको चिन्तामा छन्। 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया