विश्वप्रकाश शर्मा र प्रकाश महतलाई देउवाकाे सुझाव– ‘नेतृत्वका लागि हतार नगर्नुस्, सबैकाे पालाे आउँछ’

 मंसिर १४, २०७८ मंगलबार १८:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा विचार गर्नुपर्ने बताउनुभएकाे छ । आज मङ्गलवार सुवर्ण शम्शेर पुस्तक विमोचन एवम् नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बूढापाकाहरूलाई अर्ति दिनुभन्दा बूढापाकाबाट अर्ति लिन सुझाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्त्वपूर्ण कुरा उठाउनुभएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईँहरूले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरूलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनुहोला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहतारिनुस्, अहिले हतारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो– निर्णय नै गर्न सक्दैन, निर्णय ढिलो–ढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभाबी गर्न, जे पायो त्यहीँ त गर्न भएन नि । निर्णय भनेको सोचेर गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु ठिक हुन्छ । त्यस कारण तपाईँहरूलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नुभएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहिँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बूढापाकाहरूबाट सिक्नुपर्छ क्या, त्यस कारण बूढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यस कारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । वीपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन । पालो आउँछ, तपाईँको पालो आइहाल्छ, हतार नगर्नुस् ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँले अरूको पार्टीको चिन्ता नगर्न नेता/कार्यकर्तालाई आग्रह गर्नुभयाे । उहाँले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानु छ, एकजुट हुनु छ । तपाईँहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टीभित्रै अन्तर्घात हुनेदेखि लिएर अनेक भए । आउँदा दिनमा यो पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनुपर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई नै गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऔँ । उहाँहरूको भन्दा ठूलो पार्टी बनाऔँ ।’

प्रधानमन्त्री देउवाले सुवर्ण शम्शेर जबराले पार्टीका लागि र प्रजातन्त्रका लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया