टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

 मंसिर १६, २०७८ बिहिबार १५:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

news_24npllite ले टिकटकमा अप्लोड गरेको भिडियोको स्क्रीनसट

काठमाण्डाै – केही हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भू–भागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने अनुमान गरिएको छ । यसै सन्दर्भमा भिडियो बनाइ शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा यस नयाँ भेरियन्टका कारण नेपालमा लकडाउन सुरु भएको भन्दै भ्रामक सूचना फैलाइएको छ ।

news_24npllite नामक टिकटक एकाउन्टबाट “सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलवार बिहान ६ बजेदेखि देशैभर लागू” भन्ने शीर्षकमा गएकाे मङ्सिर ११ गते भिडियो शेयर गरिएको थियो जसमा एक लाख २७ हजार बढी प्रतिक्रिया आएका छन् भने २५ लाख भन्दा धेरै पटक हेरिएको छ । याे भिडियो नाै हजार पाँच सय ५४ जनाले शेयर गरेका छन् । नेपाल लाइभको लोगो भएको याे भिडियोमा सडकमा एम्बुलेन्स गुडिरहेको र प्रहरीले स्कुटर चालकलाई जाँच गरिरहेको दृश्य छ । “सरकारले जारी गरेको लकडाउनको सूचना मङ्गलवार बिहान ६ बजेदेखि देशैभर लागू, एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन सरकारको आदेश” भन्ने समाचारको क्लिप पनि समावेश गरिएको छ ।

तथ्य जाँच

याे भिडियोमा नेपाल लाइभको लोगो भएकाले हामीले सर्वप्रथम सो अनलाइनले भर्खरै प्रकाशित गरेका समाचारका भिडियो हेर्‍याैँ । त्यस क्रममा लकडाउनसम्बन्धी भर्खरै कुनै समाचार प्रकाशित नभएको पाइयो । भिडियोमा मङ्गलवारदेखि लकडाउन भनिएको हुनाले हामीले याे भिडियो नेपालको पहिलो लकडाउनको हुन सक्ने आकलन गर्‍यौँ । नेपालमा पहिलो लकडाउन २०७६ चैत्र ११ गते मङ्गलवार सुरु भएको थियो । यसै कारण हामीले नेपाल लाइभको २०७६ चैत्र १० र ११ गतेको समाचार हेर्दा याे भिडियो २०७६ चैत्र ११ को समाचारको भएको पत्ता लाग्यो । नेपाल लाइभमा प्रकाशित १४:५२ सेकेन्ड लामो समाचारबाट ११ सेकेन्ड काटी ‘सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलवार बिहान ६ बजेदेखि देशैभर लागू’ भन्ने वाक्य समावेश गरी याे भिडियो टिकटकमा अपलोड गरिएको पाइयो ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढिरहेको अवस्थामा पुरानो समाचारलाई अहिलेकाे जसरी लकडाउन भन्दै शेयर भएपछि कैयौँमा भ्रम फैलिएको छ भने कतिपय प्रयोगकर्ताहरूले यसको वैधानिकतामाथि प्रश्न पनि गरेका छन् । कतिपयले यो पुरानो समाचार भएको प्रतिक्रिया दिएका छन् ।

टिकटकमा प्रयोगकर्ताले कुनै भिडियोमा प्रयोग गरेको श्रव्य सामग्री अन्य प्रयोगकर्ताले आफ्नो अनुकूल बनाइ भिडियो बनाइ, तस्बिरमा वा अभिनय गरी शेयर गर्न सक्छन् । यही विशेषतालाई उपयोग गर्दै याे लकडाउनसम्बन्धी भिडियोको श्रव्य सामग्री प्रयोग गरी टिकटक प्रयोगकर्ताहरूले एक सय ९५ वटा भिडियो बनाएका छन् । कतिपयले याे श्रव्य सामग्री प्रयोग गरी आफैँ खिचेका पुरानो लकडाउनको भिडियो राखेका छन् भने कतिपयले अन्य भिडियो, तस्बिर र अभिनय गरेको भिडियो अपलोड गरेका छन् । कतिपयले याे श्रव्य सामग्री प्रयोग गरी छुट्टै भिडियो बनाइ ‘के यो साँच्चिकै हो त ?’ भनी प्रश्न पनि गरेका छन् ।

mr.shreekant_kushwaha1 ले टिकटकमा अप्लोड गरेको भिडियो र Nepal Live ले अप्लोड गरेको भिडियोको स्क्रीनसट

news_24npllite ले शेयर गरेको याे भिडियोको श्रव्य सामग्री प्रयोग गरी mr.shreekant_kushwaha1 नामक एकाउन्टबाट नेपाल लाइभकै हालसालैको समाचारको भिडियोको अंश प्रयोग गरिएको भिडियो अपलाेड गरिएको छ । नेपाल लाइभले आफ्नो युट्युब च्यानलमा मङ्सिर १२, २०७८ मा बेलायत, जर्मनी, इटली र अस्ट्रेलियामा ओमिक्रोन भेरियन्ट फैलिएको समाचार (जसमा स्क्रिनमा ‘फैलिँदै ओमिक्रोन भेरियन्ट’ क्याप्सन लेखिएको छ) को भिडियो अंशलाई mr.shreekant_kushwaha1 ले पुरानो श्रव्य सामग्रीमा प्रयोग गरी अङ्ग्रेजीमा ‘टुडेज ब्रेकिङ न्युज’ भनी शेयर गरेका छन् । याे लकडाउनको पुरानो श्रव्य समाचार र नयाँ ‘फैलिँदै ओमिक्रोन भेरियन्ट’ उल्लेखित भिडियो हेर्दा यो समाचार हालसालको जस्तो देखिन्छ । याे भिडियोमा ४४ हजार बढी प्रतिक्रिया आएको छ भने पाँच लाख बढी पटक हेरिएको छ । याे भिडियो एक हजार चार सय ३३ जनाले शेयर गरेका छन् ।

यसैगरी itsmebinita8 नामक टिकटक एकाउन्टबाट ‘Routine of Nepal Banda’ नामक फेसबुक पेजले मङ्सिर १३, २०७८ मा फेसबुकमा अपडेट गरेको कोभिडका केस सम्बन्धी जानकारीको स्क्रिनसट लिइ याे स्क्रिनसटमा news_24npllite ले अपलाेड गरेको भिडियोको श्रव्य सामग्री प्रयोग गरी बनाइएको भिडियो शेयर गरिएको छ । त्याे भिडियोमा स्क्रिनको बीचमा रोमन अङ्ग्रेजीमा ‘फेरि लकडाउन छ्या’ लेखिएको छ । याे भिडियोमा तीन सय ५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने सात हजारभन्दा बढी पटक हेरिएको छ ।

itsmebinita8 ले टिकटकमा अप्लोड गरेको भिडियो र Routine of Nepal banda पेजले फेसबुकमा गरेको पोष्टको स्क्रीनसट

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ ।

के हो ओमिक्रोन ?

दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलो पटक पहिचान भएको कोभिड १९ को पछिल्लो भेरियन्टको नाम हो ‘ओमिक्रोन’ । हाल विश्वको विभिन्न देशहरुमा ओमिक्रोन देखा परिसकेको छ । अमेरिका, अस्ट्रेलिया, अफ्रिकी देश, यूरोप र एसियाका विभिन्न देशहरुमा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ भने हालसम्म दक्षिण एसियाली देशहरुमा ओमिक्रोन भेरियन्ट फेला परेको जानकारी छैन । तर कोभिड निकै नै चाँडो एक अर्कामा सर्ने र फैलिने हुँदा विश्वका धेरै देशहरुले एक देशबाट अर्को देशमा हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

नेपाल सरकारले हाललाई अफ्रिकाका देशहरुबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको छ । यसै गरी भारत सिमा नाकाबाट आउने अफ्रिकी देशका यात्रुहरुलाई प्रवेशाज्ञा नदिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २५ गते विज्ञप्ति प्रकाशित गर्दै सचेत रही अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको छ ।  

हालसम्म ओमिक्रोन भेरियन्ट कति खतरनाक छ भन्ने तथ्य सार्वजनिक भइसकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो पुराना कोभिड भेरियन्टभन्दा धेरै संक्रामक र घातक छ कि छैन भन्ने हालसम्म पत्ता लागिसकेको छैन । 

साउथ एसिया चेकबाट

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया