‘लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषकाे बराबर सक्रियता आवश्यक’

 मंसिर १९, २०७८ आइतबार १९:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको छ । 

आज आइतवार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैङ्गिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले छाउपडी, बोक्सी जस्ता कुप्रथा पूर्णरूपमा निर्मूल गर्न अझै सङ्घर्ष गरिरहनुपरेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवम् प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूप प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट नागरिककाे जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पुर्‍याउने र छलफलबाट प्राप्त सुझावलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औल्याउनुभयो । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया