कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – १२ दिनअघि नेपालगञ्जबाट काठमाण्डौ आउँदा बानी चमारलाई आफ्नो नाम पनि लेख्न आउँदैन थियो । अहिले उहाँलाई आफ्नो मात्रै होइन, छोरा र श्रीमानको नामसमेत लेख्न आउँछ ।
‘छोराको नाम प्रमोद चमार हो । क, ख, ग, घ लेख्न जानेपछि पहिले छोराको नाम लेखेँ’ उत्साहित हुँदै उहाँले आफूले लेखेको कापी देखाउनुभयो । बानीलाई मात्र होइन, उहाँसँगै आउनु भएकी सायदा दर्जी र सलिमन बेहनालाई पनि क, ख, ग, घ र आफ्नो नाम लेख्न आउने भएको छ ।
‘पढ्न मन भए पनि बेलामा पढ्न पाइएन, गाउँमा पनि घरधन्दाले फुर्सद मिल्दैन थियो । यहाँ दिनभर धर्नामा बस्दा अक्षर सिक्ने पहिलेको धोको पूरा भएको छ’ कापीमा नाम लेख्दै गर्नुभएकी सलिमन बेहनाले खुशी व्यक्त गर्नुभयो ।
बानी, सायदा र सलिमनसहित १३ जना महिला बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा न्याय माग्दै दोस्रो पटक काठमाण्डौ आएका हुन् । उनीहरुलाई भेट्न धर्नास्थलमा कोही न कोही पुगिरहेका हुन्छन् । यसरी भेट्न जानेमध्ये केही विद्यार्थीले लेखपढ गर्न सिकाएका हुन् ।
‘हामीसँग आउनुभएका दिदीबहिनीले लेखपढ गर्न सक्नुहुन्न भन्ने थाहा पाएपछि केही विद्यार्थीहरुले कापीकलम दिएर सिकाउनुभएको हो’ धर्नाको नेतृत्व गरिरहनु भएकी अधिकारकर्मी रुबी खानले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘काठमाण्डौ आउँदा उहाँहरुलाई हस्ताक्षर गर्न पनि आउँदैन थियो, अब फर्कँदासम्म आफ्नो र परिवारको नाम लेख्न सक्ने हुनुभएको छ ।’
काठमाण्डौमा धर्ना बस्दा क, ख, ग, घ र नाम लेखेको कापी घरमा लगेर देखाउन उनीहरुलाई हतार भैसकेको छ । तर फर्कने टुङ्गो छैन । ‘सरकारले माग पूरा गरेपछि मात्रै फर्कने हो, तर सरकारले अझै माग पूरा गर्ने सुरसार गरेको छैन’ खानले भन्नुभयो ।
यसअघि गएको असोजमा उहाँको नेतृत्वमा नेपालगञ्जका महिला पैदल काठमाण्डौ आएर धर्नामा बसेका थिए । ११ दिनसम्म धर्ना दिएपछि सरकारले सहमति गरेको थियो । दुवै घटना छानबिनका लागि समिति गठन गरेर समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ । त्यो प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरू फेरि काठमाण्डौ आएका हुन् ।
काठमाण्डौ आउनुअघि उनीहरूले बाँके जिल्ला प्रशासन कार्यालयमा दुई हप्ता धर्ना दिएका थिए । तर, सुनुवाइ नभएपछि बाँकेबाट फेरि काठमाण्डौ आउनुपरेको अधिकारकर्मी रुबी खानले बताउनुभयो ।
तस्बिर : रुबी खानकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।