स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – नेपाल बार एसाेसिएशनले आज बुधवार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो । उहाँले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले प्रधानन्यायाधीशकाे विपक्षमा अभिव्यक्ति दिएकाले उहाँकाे बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘परिवारबाट नै बिचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्रशम्शेर जबराबाट । चोलेन्द्र शम्शेर जबराको बिचौलिया पनलाई रोक्ने संयन्त्र बनाउनका लागि पनि प्रतिवेदन दिएका छन् । तर उनी बिचौलिया रोक्नका लागि तयार छैनन् । भ्रष्टाचार रोक्नका लागि तयार छैनन् । विसङ्गति रोक्नका लागि तयार छैनन् । बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानुन र नैतिकताको आधारमा उहाँलाई बहिर्गमन गराउनका लागि हामीले धेरै पहल गरिरहेका छौँ । हामीले जसलाई भेट्यौँ उहाँहरूले चोलेन्द्रशम्शेरलाई निकाल्नुपर्ने कुरा भन्नुभएको छ । न्यायालयमा स्वच्छता भएन भन्ने कुरा गर्नुभएको छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको गाडी र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनुनपर्ने बताउनुभयो । उहाँले अहिले प्रधानन्यायाधीश एउटा मूर्तिजस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुन सक्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता उप्रेतीले भन्नुभयो, ‘मलाई लाग्छ संसारको कुनै पनि देशको मुद्दाको पेसी पनि तोक्न नपाउने, मुद्दा हेर्न पनि नपाउने अरू सहयात्री न्यायाधीशहरूसँग बस्न पनि नपाउने, फैसला गर्न पनि नपाउने भएर बस्ने पनि दुनियाँमा प्रधानन्यायाधीश हुन्छ । यो प्रधानन्यायाधीश एउटा मूर्ति बसेको खालको मात्रै हो । न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुन सक्छ । जसले प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेको छैन, जसको पृष्ठभूमि यति विवादास्पद भइसकेको छ, सम्पूर्ण विचार बोक्ने, सम्पूर्ण आस्था भएका कानुन व्यवसायीहरूको साझा सङ्गठन नेपाल बार एसाेसिएशनले आज यति लामो आन्दोलन गरिरहेको छ । विश्वको कुनै पनि प्रधानन्यायाधीशले यस्तो कुरा बोक्नुपरेको छैन । यस्ता प्रधानन्यायाधीशलाई सरकारले गाडीको सुविधा किन दिइरहेको छ ? त्यो सुविधा खोस्नुपर्याे । सुरक्षा किन दिइरहेको छ ? के का लागि चाहियो सेक्युरिटी ? सरकारलाई म भन्न चाहन्छु, आजकै मितिबाट तुरुन्तै गाडी खोसियोस्, सुरक्षाकर्मी पनि खोसिऊन्, उनलाई अब सुरक्षाकर्मी र गाडी दिनुपर्ने आवश्यकता छैन । उनले प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्न सक्दैनन् भने त्यस्ता मान्छेले त्यो सुविधा उपभोग गरेर बस्नुपर्ने अवस्था छैन ।’
वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दबाब दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।