भारतमा अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्न नपर्ने

 माघ १९, २०८१ शनिबार १५:६:३४ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

भारतमा आज नयाँ बजेट सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । अर्थमन्त्री निर्मला सीतारमणले लगातार आठौं पटक संसद्मा बजेट पेश गर्नुभयो ।

भारतबाट मोराजी देशसाईले सबैभन्दा धेरै १० पटक बजेट पेश गर्नुभएको छ । देसाईले अर्थमन्त्रीका रूपमा सन् १९५९ देखि १९६४ सम्म ६ पटक र सन् १९६७ देखि १९६९ सम्म ४ पटक बजेट पेश गर्नुभएको थियो । लगातार आठौं पटक बजेट प्रस्तुत गर्ने कीर्तिमान भने निर्मला सीतारमणको नाममा रहेको छ ।

बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो ।

बजेटमा किसान क्रेडिट कार्डको सीमा ३ लाखबाट बढाएर ५ लाख भारु पुर्‍याउने उल्लेख छ । यस्तै सडक व्यापारीहरूलाई आर्थिक रूपमा सहयोग गर्नका लागि ३० हजार भारुको क्रेडिट कार्ड, बालबालिकाको मनोवैज्ञानिक सोचको विकासका लागि विद्यालयमा नयाँ कुराहरू सिक्न, प्रयोग गर्न र सिर्जना गर्नका लागि आउँदो ५ वर्षमा ५० हजार ‘टिङ्करिङ ल्याब’ बनाइने उल्लेख छ ।

अर्थमन्त्री निर्मला सीतारमणले सक्षम आंगनवाणी पोषण २ अन्तर्गत ८ करोड बालबालिका तथा १ करोड गर्भवतीलाई लाभ पुग्ने बताउनुभयो । यस्तै बजेटमा बिहारमा मखाना बोर्ड स्थापना, कृषि योजनामा सयभन्दा धेरै जिल्लालाई महत्त्व, खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउने, किसान, महिला र युवालाई प्राथमिकता दिने उल्लेख छ ।

कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) शिक्षाका लागि उत्कृष्ट संस्थानको संस्थापनादेखि हरेक वर्ष २० लाख जना युवालाई सरकारले देशका शीर्ष ५ सय कम्पनीमा इन्टर्नशिप दिनेसम्मका कुरा भारतको नयाँ बजेटमा उल्लेख छ ।

बजेट भाषणको शुरूमा अर्थमन्त्रीले भारतको अर्थतन्त्र विश्वका ठूला अर्थतन्त्र भएका देशहरूमध्ये सबैभन्दा छिटो बढिरहेको र विगत १० वर्षको विकास कार्य र संरचनात्मक सुधारका आगि आफूहरूको ट्र्याक रेकर्डले विश्वव्यापी ध्यान आकर्षित गरेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया