सहकारीले खुवाएको तिजको दर खाँदा ३ सय जनाभन्दा बढी बिरामी

 भदौ २३, २०७५ शनिबार १२:३४:० | कपिल कोइराला
unn.prixa.net

काभ्रे – पाँचखाल नगरपालिका–१२ कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा तीन सयजना भन्दा बढी बिरामी भएका छन् । ग्रामिण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

घटनास्थलमा रहनुभएको पत्रकार इश्वरी राजकुमार मैनालीका अनुसार अहिलेसम्म ३०० जनाको उपचार गरिएको बताउनुभयो । उहाँका अनुसार घटनास्थल जनभावना प्राविमा स्थापना गरिएको स्वास्थ्य शिविर, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल अस्पताल र शीर मेमोरीयल अस्पतालमा बिरामीको उपचार भैरहेको छ । 

पाँचखाल नगरका प्रमुख महेश खरेलको नेतृत्वमा जनप्रतिनिधिहरु बिहानैदेखि घटनास्थल गएर प्राथमिक स्वास्थ्य उपचार दिएको कारण बिरामीहरुले समयमा नै उपचार पाएका थिए । नगरका प्रमुख प्रशाशकीय अधिकृत भोला चापागाई काठमाडौंबाट औषधि लगेर उपचारमा संलग्न हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरी र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि धुलिखेल पठाएका थिए । 

विशाक्त खानाका कारण बिरामी भएको अस्पतालले जनाएको छ । तर स्थानीयले त्यस क्षेत्रमा केराउ चनालगायतका गेडागुडीको सुरक्षाको लागि ‘एमोनियम सल्फेस’ नामक विषादीको ट्याब्लेट बोराको बीचमा राख्ने गरिएको र केराउ पानीमा भिजाउने क्रममा त्यो ट्याब्लेट पनि पानीमा ढाडिएर त्यही विषादीको कारण बिरामी भएको आशंका गरेका छन् । 

स्थानीयका अनुसार केराउको अचार नखाने स्थानीय भने बिरामी परेका छैनन् । १५ सय सदस्य रहेको सहकारीको दर कार्यक्रममा ५ सय जना सहभागी भएका थिए । पत्रकार मैनालीका अनुसार एकै घरका ७ जनासम्म बिरामी भएका छन् ।

– तस्बिर साैजन्य : इश्वरी राजकुमार मैनाली

अन्तिम अपडेट: चैत २८, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया