घर नबनाई किस्ता : पैसा लिएर किस्ता निकासा गर्न वडा अध्यक्ष र प्रविधिक नै सक्रिय

 जेठ २०, २०७५ आइतबार १५:२४:९ | कपिल कोइराला

काभ्रे – काभ्रेको विकट क्षेत्र डाँडापारीमा स्थानीयले घर नबनाई भूकम्प पीडितको नाममा दोश्रो किस्ताको रकम बुझेका छन् ।

खानिखोला गाउँपालिका वडा नम्बर–४, का स्थानीयबासिन्दा र प्राविधिकको मिलेमतोमा डाँडागाउँका केही बासिन्दाले घर नबनाई दोश्रो किस्ताको रकम बुझेको पाइएको हो । वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बम र स्थानीय निशान लामा र वीरमान लामाको मिलेमतोका १० जना भन्दा बढीले घर नै नबनाई दोश्रो किस्ता रकम पाएका हुन् ।

भूकम्प पीडितसँग डाँडागाउँकै निशान र वीरमानले बार्गेनिङ गर्ने र प्राविधिक बमसँग कुरा मिलाएर दोश्रो किस्ता रकम लिएको खुल्न आएको छ । वडाका सोमबहादुर थोकरसँग ३० हजार, दामोरानी स्याङतानसँग ३० हजार, सुमित वाइवासँग ४० हजार, सोनम वाइवासँग ५० हजार, ज्ञानबहादुर स्याङ्तानसँग ३० हजार रुपैयाँ निशानले लिएको र बुद्धिमाया थिङको  रकम वीरमानले लिएका थिए ।

बढी जस्तो साविक डाँडागाउँ गाविसको ८ र ९ वडामा भूकम्प पीडितहरुले घर नै नबनाई दोश्रो किस्ता लिएको देखिन्छ । घर नबनाई दोश्रो किस्ता पैसा लिनेमा देवान सिंह लामा, दीलबहादुर गुरुङ, माइलीमाया वाइवा, ज्ञानीमाया मोक्तान, इन्द्रकुमारी मोक्तान, बिक्रम जिम्बा, पदमबहादुर मोक्तान, कान्छीमाया मोक्तानले पनि घर नबनाई भूकम्प पीडितको रकम लिएका छन् ।

जब भूकम्प पीडित बुद्धिमाया थिङको दोश्रो किस्ताको लागि नाम निकाल्दिन्छु भनेर वीरमानले रकम बुझे पनि पछि नाम ननिक्लिएपछि कि डबल पैसा फिर्ता कि नाम निकाल्नुपर्ने अडान लिएपछि  घटना बाहिर आएको थियो ।

श्रीमान विदेश गएको र आफू पनि गाउँमा बस्न नपाउने भएकाले अहिलेसम्म घर नबनाएकी बुद्धिमायासँग दोश्रो र तेश्रो किस्ता बापतको रकम उपलब्ध गराइदिए बापत ५० हजार रुपैयाँ मागेका वीरमानलाई पहिलो चरणमा बुद्धिमायाले १० हजार रुपैयाँ दिएकी थिइन् । बाँकी ४० हजार भूकम्प पीडितको खातामा रकम आएपछि दिने सहमति थियो ।

प्राविधिक बमसँग गरिएको कुराकानीको भिडियो समेत बाहिरिहेको छ । उनले पैसा लिएको स्वीकार गरेका छन् । आफूले प्रत्यक्ष रुपमा पीडितहरुसँग पैसा नलिए पनि निशान र वीरमान मार्फत पैसा लिएको स्वीकारेका हुन । उनले एक जना बराबर ५ देखि १० हजार रुपैयाँसम्म रकम लिएको तर भूकम्प पीडितहरुले भने जस्तो थुप्रो रकम नलिएको बताए ।

यस विषयमा खानीखोला गाउँपालिका वडा नम्बर–४, का वडा अध्यक्ष वीरमान लामाले यसबारे आफूलाई थाहा नभएको बताए । घर नै नबनाई रकम उपलब्ध भएको भन्दै स्थानीयहरुले वडा अध्यक्ष वीरबहादुर वाइवा र त्यस वडामा खटिने प्राविधिक हर्ष बमको मिलेमतोमा रकम निकासा भएको आरोप लगाउँदै निश्पक्ष छानविनको माग गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला समन्वय समिति काभ्रेमा उजुरी दिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया