'मह' जोडी नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'

 मंसिर २९, २०७८ बुधबार १३:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो । 

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीको सहभागिता रहेको कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राख्नुभएको थियो ।  

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्य व्यङ्ग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनु भयो । उहाँले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरहरूको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गर्नुभयो ।  

कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशको लगानी भएको, देशकै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्रान्ड एम्बेसडर हुन पाएकोमा आफूहरूले गौरवान्वित महसुस गरिरहेको बताउनुभएको थियो ।  

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी काम गर्नुहुनेछ । अहिले एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया