पार्टीले ‘प्रचण्डपथ’ र जनवादलाई छाेड्नु गलत : मन्त्री शर्मा

 पुस १, २०७८ बिहिबार २०:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा आयोजित जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उहाँको भनाइ छ । यसलाई केही पनि होइन जस्तो गरी फ्याँक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गर्नुभयो । माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रूपमा अस्पष्ट भएको उहाँले बताउनुभयो । उहाँले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गर्नुभयो । 

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ । त्यसको सही सदुपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापी दियौँ । मानौँ त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरूको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकी दियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्‍याे । । त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याँक्नुको कारण आज निराशा पैदा भएको हो ।’

उहाँले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताको पक्षमा नयाँ जागरण ल्याउनुपर्ने बताउनुभयाे । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया