बिजुली नपाएर उद्याेग नै नचल्ने हाे कि भन्ने शङ्का गर्नुपर्दैन : मन्त्री भुसाल

 पुष १, २०७८ बिहीबार २०:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको हो । 

मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले तत्काल बिजुली महसुस सस्तो दिन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले उद्योग सञ्चालनमा बिजुलीकाे गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरणले गुणस्तर क्षमता बढाएर बिजुली दिने वातावरण बनाउने बताउनुभयो । मन्त्री भुसालले बिजुली उत्पादन उद्योगहरूको क्षमताभन्दा धेरै रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरू अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा ऊर्जा खपत गर्ने उद्योग ल्याउनका लागि पहल गर्नसमेत आग्रह गर्नुभयो । उहाँले उद्योगहरूको हकमा बिजुली महसुल महँगो भएको स्वीकार गर्नुभयो । 

मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले बिजुलीकाे महसुल कम गर्ने योजना बनाइरहेको छ । उद्योगहरूमा पनि बिस्तारै सस्तो महसुलमा ऊर्जा खपत गर्ने वातावरण बनाउँछौँ । तर तत्काल व्यवसायीहरूले भने जस्तो तत्काल यति नै सस्तो बनाउँछौँ भन्ने अवस्था छैन । त्योभन्दा अहिले उद्योगहरूलाई जरिबाना लगायतका कुरामा छुट दिन सकिन्छ । बिजुलीकाे महसुल उद्योगहरूमा महँगो भएको छ । किनकि बैंकबाट ऋण लिएर महँगो ब्याज तिरेर मात्रै बिजुलीमा लगानी गरी उत्पादन गरेका कारण केही महँगो नै भएको छ । महँगो भए पनि नेपालमा उत्पादन भए बिजुली नेपालमा नै खपत गर्नुपर्ने अवस्था छ । त्यसैले व्यवसायीहरूले उद्योगमा लगानी गर्दा बिजुली नपाएर उद्योग बन्द हाेला कि भन्ने शङ्का गर्नुपर्दैन ’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सेवा प्रवाहकाे विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले धेरै उद्योगी व्यवसायीहरूले प्राधिकरणको बिजुली सेवा कमजोर भएको गुनासो आएको बताउनुभयो । निर्देशक घिसिङले सेवा प्रवाहकाे विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगहरूले प्राधिकरणको बिजुली गुणस्तर नभएको बताउनुभयो । उहाँले स्टिल उद्योगहरूमा गुणस्तरीय बिजुली नहुँदा समस्या भइरहेको बताउनुभयो । राति उद्योग सञ्चालन गर्दा विद्युत् महसुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म बिजुली कटौती हुने उपाध्यक्ष श्रेष्ठकाे भनाइ छ । 

उहाँले उद्योग सञ्चालन गरिरहँदा बिजुली बारम्बार कटौती हुँदा धेरै नोक्सानी भोग्दै आउनुपरेकाे बताउनुभयो । उहाँले गुणस्तरीय बिजुली नहुँदा सामान पनि गुणस्तरीय उत्पादन नहुने र समय त्यतिकै खेर जाने गरेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया