चिया निर्यात सुरु भए पनि मूल्यमा ५० प्रतिशतले गिरावट आएको उद्योगीको गुनासो

 पुष ३, २०७८ शनिबार ११:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिया निर्यात सुरु भए पनि मूल्यमा गिरावट आएको चिया उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया निर्यातमा केही अगाडि समस्या रहेकोमा अहिले समाधान भइसकेको तर उचित मूल्य नपाएको उद्योगीले गुनासो गरेका छन् ।

नेपालको चिया कम गुणस्तरको भएको भन्दै भारतले मंसिर पहिलो हप्तादेखि दोस्रो हप्तासम्म निर्यातमा रोक लगाएको थियो । तर निर्यातको समस्या समाधान भएको तर गएको वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले चियाको मूल्य कम भएको हिमालय सांग्रिला इलामका कमल मैनालीले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष प्रतिकिलो दुई सय ४० देखि एक हजार ६ सय रुपैँयासम्म बिक्री भएको चिया यो वर्ष भने एक सय २० देखि आठ सय रुपैँयासम्ममा विक्री गर्नुपर्ने बाध्यता छ ।

नेपालका चिया उद्योगले सात प्रकारका चिया उत्पादन गर्छन् । यसरी चियाको मूल्य घट्दा किसानले हरियो पत्तीको उचित मूल्य नपाउने अर्का उद्योगी गोर्खा टी स्टेडका उदय चापागाईँले बताउनुभयो । उहाँका अनुसार प्रशोधित चियाको मूल्य घट्दा यसको प्रत्यक्ष असर हरियो पत्तीमा पर्छ ।

मूल्यमा गिरावट आएकै कारण किसानले यो वर्ष हरियो चियापत्तीको मूल्य प्रतिकिलो १५ रुपैयाँ मात्रै पाएको उद्योगी चापागाईँले जानकारी दिनुभयो । गएको वर्ष भने किसानले हरियो चियापत्तीको मूल्य प्रतिकिलो २५ रुपैँयासम्म पाएका थिए ।

चियाको मूल्यमा गिरावट आउँदा किसानको लगानी नउठ्ने, व्यवसायबाट पलायन हुनुपर्ने समस्या छ । चियाको मूल्य कम पाएकाले लगानी नउठेको गुनासो कार्यालयमा नआएको चिया तथा कफी विकास बोर्ड फिक्कलका कार्यकारी निर्देशक डा. विष्णुकुमार भट्टराईले बताउनुभएको छ । उहाँका अनुसार गुनासो आए तत्काल समाधानको पहल थालिनेछ ।

गएको वर्ष माग उच्च भएकाले चियाको मूल्य बढेको तर यसवर्ष माग कम भएको उहाँको भनाइ छ । गएको वर्ष कोरोना महामारीका कारण चिया उत्पादनमा ४० प्रतिशत ह्रास आएकाले नेपालको चियाले मूल्य बढी पाएको निर्देशक भट्टराईले बताउनुभयो ।

गएको वर्ष चिया उत्पादन गर्ने देशले चिया बगान र उद्योग कोरोना महामारीका कारण बन्द गरेका तर नेपालमा भने १५ दिन मात्रै बन्द गरी सबै उद्योग र चिया बगान सञ्चालन गरिएकोले उत्पादनमा कमी नआएको उहाँको भनाइ छ । यस वर्ष भने सबैतिर उत्पादन भएकाले माग कम हुँदा मूल्य गएको वर्षको तुलनामा कम भएको निर्देशक भट्टराईको दाबी छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया