सिसी टहरोमा एमसीसी बहस !

 पुस ११, २०७८ आइतबार ९:४०:३३ | मिलन तिमिल्सिना
unn.prixa.net

जाडोको बेला सम्साझै टहरोमा जमघट सुरु भयो । जमघटसँगै एउटाले भन्यो मत गन्ती सकिएपछि ट्याङ्की खाली भयो, सिसिको पालो आयो । त्यसैले, अब सिसीकै तुन्काउने हो !

सिसी त सिसी, तर कुन सिसी ? दलहरुको दिमाग तताउने एमसीसी कि लुकेर हेर्ने क्यामरा सिसी कि ? कि इमेल पठाउँदाको सीसी या बीसीसी ? 

सिसी भनेपछि सिसी नि ? एमसीसी न बीसीसी !

अरु सिसीको कुरा छाड केटा हो ! मलाई त एमसीसीकै तान्न मन लाग्यो । एमसीसी भन्ने नाम सुन्नेबित्तिकै सबै तातेर बुरुकबुरुक गर्छन् । नाम सुन्दैमा ज्यान तात्तिने चिज सुँघ्न र चाख्न पाइयो भने झन् के होला ? कहाँ पाइएला हँ त्यो एमसीसी ?

अहिल्यै त के पाइन्थ्यो ? पाए पनि ठूलाबडाले पाउने हुन् रे क्या । अमेरिकाबाट आएको रे ।

ए त्यही भए र पो हो बेलायतमा पढेर बेलायतकै सिसी चाखेका प्रधानमन्त्रीले अमेरिकी सिसी पनि छिटै पिउनुपर्यो भनेका ?

के का प्रधानमन्त्रीलाई मात्र हतार हो र ? सिसी त छुँदै छुन्न भन्ने कम्युनिस्ट नेताहरुलाई पनि हतार भैसकेको छ । बाहिर भन्न पो नभएको । ठाडो घाँटी लगाउन पाइएला कि भनेर उनीहरु पनि आँ... गरेर बसेको बस्यै छन् ।

अनि बाहिर बाहिर एमसीसी ल्याउन हुँदैन भनेर चाहिँ किन भनेका त ?

त्यसो त बाहुनहरुले बाहिर बाहिर रक्सी खाँदैनौँ, खान हुन्न भन्छन् नि । भित्रभित्र नपिउने बाहुन कोही होला त ?

त्यो त पक्कै छैन ।

हैन ए केटा हो एमसीसी भनेको रक्सीकै सिसी हो र भन्या ?

किन हैन त ? नाम सुन्दैमा थाहा हुन्छ नि । सिसी भनेको बोतल । बोतल भन्नेबित्तिकै रक्सीकै बुझिन्छ । एमसीसी भनेपछि अलि ठूलो खालको बोतल होला । महँगो रक्सी हालेको, विदेशी ब्राण्डको । सिसी मात्रै भन्दा सस्तो रक्सी ठान्छन् भनेर महँगो सिसी भन्ने अर्थ लाग्ने गरी अघिल्तिर एम थपेर अलि स्मार्ट नाम बनाएका क्या । 

त्यसो भए नेपालीलाई बिगार्न उता बनाएको रक्सी सिसीमा हालेर पठाउन खोजेका होलान् । यसै त नेपाली धेरै रक्सी पिएर बिग्रिसके । त्यसमाथि अमेरिकाले त्यस्तो महँगो रक्सी ठूलो सिसीमा हालेर पठायो भने के हुन्छ ? सबै नेपाली बिग्रन्छन्, सबै गरिब हुन्छन् । 

ओहो ! त्यसो भए त त्यति ठूलो र महँगो सिसीमा रक्सी ल्याउन दिन हुँदैन । यसले नेपाललाई गरिब बनाउँछ, नेपालीको स्वास्थ्य बिगार्छ । जसरी पनि एमसीसी रोक्नुपर्छ ।

हरे कस्ता मूर्ख होलान् यिनीहरु ! एमसीसी भनेको तिमीहामीले तन्काउने रक्सीको सिसी होइन क्या । पढाइको कुरा हो यो । हाम्रो यहाँ एमएससी, एमबीएस भनेजस्तै उताको डिग्री हो । एमएससी र एमबीएस भन्दा पनि ठूलो डिग्री एमसीसी । नेपालीले भन्दा धेरै पढेका एमसीसी पास गरेका मान्छेलाई यहाँ विकास गर्न पठाउने भनेका हुन् । कुरा बुझ्नुसुझ्नु छैन । एमसीसी भनेको रक्सीको सिसी भन्छन् । 

ए एमसीसी भनेको पढाइको, डिग्रीको कुरा पो हो ! त्यसो हो भने त गजब हुन्छ नि । उनीहरुले हामीलाई सिकाउँछन्, अनि हामी पनि उनीहरुकै हाराहारीमा पुग्न सक्छौँ ।

कहाँ उनीहरुले सिकाएर हुन्छ ? उनीहरुभन्दा हामी जान्ने छौँ । पढेर, डिग्री हातमा परेर मात्र हुन्छ ? अनुभव हुनुपर्यो नि । हामीलाई जस्तो अनुभव उनीहरुसँग हुन्छ ? त्यसमाथि उनीहरुले अङ्ग्रेजी मात्र बोल्छन् ।

हाम्रा छोराछोरीले बोर्डिङ स्कुल पढेर नेपाली भाषा बिर्सिसके । अब अमेरिकामा धेरै पढेका मान्छेहरु हाम्रामा आउँदा छोराछोरीको हालत झन् के होला ? नेपाली भाषा त सोत्तर हुन्छ ? त्यति धेरै पढेका, एमसीसी पास गरेका मान्छे हाम्रो देशमा ल्याउन हुँदैन । 

कस्तो मूर्ख कुरा गरेको होला यिनीहरुले । एमसीसी भनेको एमएससी र एमबीएस भनेजस्तो हैन क्या । कता पढाइको कुरा गरेको ? यो त सुरक्षाको विषय हो रे । अमेरिकी सेनाको कुरा क्या । भारतीय सीमा सुरक्षा बललाई एसएसबी भनेजस्तै अमेरिकी सेनाको बललाई एमसीसी भनेको हो । अमेरिकी सेना नेपाल आउन लागेका हुन् ।

ओहो ! भारतीय सुरक्षाकर्मीले त यस्तो दुःख दिइरहेको छ, अमेरिकी सेना त कहाँ आउन दिन हुन्छ र ? हुँदैन । अमेरिकी सेना नेपाल आउने यस्तो राष्ट्रघाती सम्झौता कुनै हालतमा कार्यान्वयन गर्न हुँदैन । रोक्नुपर्छ ।

एमसीसी भनेको एसएसबी भनेजस्तो पनि हैन होला । यो त एनटीसी र एनसेल भनेजस्तै मोबाइलको काम गर्ने अर्को कम्पनीको नाम एमसीसी होला । 

त्यसो हो भने पनि नेपालमा एमसीसीको काम छैन । एनटीसी र एनसेल नै काफी छन् नि, किन चाहियो अर्को कम्पनी ? 

एमसीसी भनेको कहाँ मोबाइल कम्पनी हुनु ? हैन होला । सम्झौतामा त बिजुली र सडक बनाउने कुरा छ पो भन्छन् त ।

भनेपछि सडक बनाउँदा र बिजुलीको टावर गाड्दा जेसीबी र डोजर लगाउँछन् नि, हो जेसीबी भनेजस्तै एमसीसी होला । जेसीबीले भन्दा छिटो खन्ने मेसिन । 

ओहो ! जेसीबीभन्दा पनि ठूलो मेसिन त झन् ल्याउन दिनै हुँदैन । बाटो खन्दा गाउँगाउँमा जेसीबी पसेपछि अहिले नै गाउँघरमा पहिरो चलेको चल्यै छ । जेसीबीका कारण कतिका घर भत्किसके । कति ठाउँमा पहिरो गैसक्यो । अब जेसीबीभन्दा पनि पावरवाला एमसीसी आयो भने त गाउँमा अलिअलि बाँकी बसेका घर पनि सग्ला रहँदैनन् । बाटो र बिजुली बनाउँदा सबैतिर पहिरो खसेर बर्बाद हुन्छ । एमसीसी त ल्याउन हुँदै हुन्न । जसले विरोध गरिरहेको छ ठिक छ ।

हैट मूर्खहरु एमसीसी भनेको बाटो खन्ने जेसीबी होइन । एमसीसी, एमबीएस भनेजस्तो पढाइको कुरा पनि हैन । न एसएसबी भनेजस्तो हो, न एनटीसी र एनसेल भनेजस्तो । रक्सीको महँगो सिसी पनि होइन । यो त अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसनको छोटकरी रुप हो क्या एमसीसी । 

हो र ? अनि सम्झौतामा के के छ ? किन विरोध भएको त ? 

खै के छ भनेर त पढेको छैन । तर जेसीबी, एनटीसी भनेजस्तो चाहिँ होइन । तर यो ल्याउन चाहिँ हुँदैन।

अनि के हो भन्ने कुरै नबुझी ल्याउन चाहिँ किन नहुने नि ?

खै हाम्रो पार्टीले हुँदैन भनेको छ, त्यसैले हुँदैन ।

हैन हाम्रो पार्टीले एमसीसी आएर केही हुँदैन, बरु नेपालको विकास हुन्छ भनेको छ, ल्याउँदा हुन्छ।

हुँदै हुँदैन।

हुन्छ क्या, हुन्छ ।   

तैँले भनेर कहाँ हुन्छ ? एमसीसी आउनै दिन्नँ ।

ल भयो केटा हो....एमसीसी के गर्ने भन्ने कुरा पहिले यो सिसीको झोल घोप्ट्याएपछि तय गरौँला ।

ए साहुनी चार ठाउँमा एमसीसी...आच्या त्यो सिसी दिनुस् त ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • AlbertJem

    Jan. 8, 2022, 9:18 p.m.

    Please, explain more in detail

  •  0 Reply
  • Sudipraj Ramtel

    Jan. 7, 2022, 8:22 p.m.

    मलाई तपाईंको रेडियो प्रस्तुती र लेखन सार्है मनपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया