‘पेस्ताेल बिक्री’ गर्न नेपाल आएका दुई भारतीय सुनसरीबाट पक्राउ

 पुस १३, २०७८ मंगलबार १८:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी.एस. होटलबाट उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । उनीहरूकाे साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गाेली र चार थान म्यागजिन बरामद गरेको छ ।

बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ । । 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले सुराकीका आधारमा हाेटलमा छापा पार्दा हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेकाे बताउनुभयो । सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशङ्का सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीकाे प्रक्रिया अघि बढाइएको बताएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया