सत्यनारायण श्रेष्ठलाई पत्रकार महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न माग

 पुष १३, २०७८ मंगलबार २०:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १ सय ६ औँ जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशालाकाे सञ्चारग्राममा रहेकाे नेपाल पत्रकार महासङ्घको सभा हलमा आयोजना कार्यक्रममा वक्ताहरूले यस्ताे माग गरेका हुन् । अहिले नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुनुहुन्छ ।

२००८ सालमा नेपाल पत्रकार सङ्घको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा 'नेपाल टुडे' को सम्पादक हुनुहुन्थ्यो । उहाँकै सभापतित्व र 'तरंग' का सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार सङ्घको गठन भएको थियो । यसैले नेपाल पत्रकार सङ्घका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।

उहाँकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार सङ्घको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीमा रहेकाे आर्य समाजको भवनको सभा कक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार सङ्घ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार सङ्घको पुर्नगठन भएको थियो । २०१२ साल चैत १६ गते पत्रकारहरूको बैठकबाट 'नेपाल पुकार' का तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको थियो । सत्यनारायण बहादुर श्रेष्ठ भन्दा चार वर्षपछि मात्रै नेपाल पत्रकार सङ्घको अध्यक्ष बन्नुभएका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले २०१२ चैत १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासङ्घलाई पुनर्गठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापकका रूपमा सम्मान गर्नुपर्ने माग गरेका थिए ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासङ्घको संस्थापक बहसबारे महासङ्घका सम्बद्ध पक्ष पन्छिन नहुने बताउनुभयो । 

यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले नेपाल पत्रकार महासङ्घले आफ्नो संस्थापक अध्यक्षको प्रश्नमा पुनर्विचार गर्न जरुरी रहेको भनाइ राख्नुभयाे । 

पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवम् वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले सत्य/तथ्य सबैलाई थाहा भए पनि कसैले सम्बोधन नगरेको बताउँदै भन्नुभयो, ‘महासङ्घको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहासको विस्मृतिमा परेको हो ।’

स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले यस विषयमा थप अध्ययन र प्रमाणहरू जुटाउँदै सकारात्मक रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासङ्घको संस्थापकको मुद्दा न्यायको लडाइँका रूपमा रहेको बताउनुभयो । उहाँले सञ्चारग्राममै संस्थापक अध्यक्षको मान दिइ सत्यनारायण बहादुर श्रेष्ठको प्रतिमा स्थापना गर्नुपर्ने बताउनुहुँदै जन्मजयन्ती मनाउने जिम्मेवारी पनि पत्रकार महासङ्घले नै लिनुपर्ने बताउनुभयो ।

नेपाली सञ्चारवृतमा गृष्मबहादुर देवकोटाको 'नेपाली छापाखानाको इतिहास' नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर महासङ्घको संस्थापक अध्यक्षबारे बहस हुँदै आएकोमा एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाइँ’ को  रूपमा अभियानलाई निरन्तरता दिँदै आउनुका साथै विगत तीन वर्षदेखि प्रत्येक पुस १३ गते उहाँको जन्मजयन्ती समारोहको आयोजना पनि निरन्तर गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया