आजदेखि बत्ती गइरहने समस्या समाधान हुन्छ : कुलमान घिसिङ

 पुष १६, २०७८ शुक्रबार १५:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ । 

आज शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आज शुक्रवारदेखि यो समस्या समाधान हुने बताउनु भएको हो । 

घिसिङले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा अब नाै वटा सबस्टेशन थपिने भएकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् आपूर्ति गर्न सक्ने बताउनुभयो । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएका कारणले यी समस्या आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत तीन/चार दिनदेखि विद्युत आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाण्डाैमा मात्रै हो । यो आपूर्तिकाे कारणले भएको समस्या होइन । काठमाण्डाैका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँमा मात्र समस्या भएको हो । अहिले हाम्रो विद्युतको बेलुकाको पिक लोड झन्डै १७ सय मेगावाट र बिहानको झन्डै साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले आपूर्ति गर्न सकिरहेका नै छौँ । माथिल्लाे तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाण्डाैमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाण्डाैकाे लोड बढेको छ । पानी परेपछि ठाउँ–ठाउँमा हाम्रो लोड नसाेचेकाे रूपले बढ्यो । त्यसले गर्दा प्रणालीमा सबस्टेशनबाट फिडर निस्किन्छ, काठमाण्डाैभित्र धेरै सब्स्टेशन छन् जसले काठमाण्डाैभित्रको लोडलाई आपूर्ति गरिरहेको छ । काठमाण्डाै उपत्यकामा मात्रै झन्डै ३७ सय ट्रान्सफर्मर छन् । त्यसबाट नै आपूर्ति हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरमा समस्या आउने हुन्छ । अहिलेको मुख्य समस्या भनेकाे ट्रान्सफर्मर ओभरलोड भएको हो । लोडअनुसार ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले बिजुली जाने समस्या नहुने बताउनुभयो । उहाँले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया