हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

 पुस १९, २०७८ सोमबार १५:५९:५६ | राजु लामिछाने
unn.prixa.net

उद्धारका लागि पुगेकाे नेपाली सेनाकाे हेलिकप्टर

रुकुम पूर्व – गएकाे एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएकाे सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको थियो ।

आज साेमवार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मजदुरहरूकाे उद्धार गरेको प्रजिअ बास्कोटाले बताउनुभयो । 

उद्धार हुनेहरूमा १० जना पुरुष र चार जना महिला रहेका छन् । पुथाउत्तरगंगा २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरूकै गाउँ पेल्मामा छोेडिएको छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे र सबै जना नजिकैको ओढारमा बसेको बताइएको छ । 

गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका उनीहरू गएकाे १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया