महासचिवका दाबेदार माओवादी नेता वर्षमान पुन डिस्चार्ज, स्वदेश फर्किँदै

 पुस २०, २०७८ मंगलबार ११:४७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ ।

दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो ।

पुन माओवादी केन्द्रको एक महासचिवको दाबेदार हुनुहुन्छ । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सार्नु भएको बताउनु भएको थियो । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी हुनुहुन्छ ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको सङ्ख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ ।

अध्यक्षमा प्रचण्ड निर्वाचित भइसक्नु भएको छ । अन्य पदाधिकारी भने आउँदो २५ गते बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुङ्गो लगाइने भएको छ ।

तस्बिर : दिपेश पुनकाे फेसबुक

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया