‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

 पुस २०, २०७८ मंगलबार १४:४५:४० | रामकुमार थापा
unn.prixa.net

धादिङ – भिजिट भिसामा यूएई पुर्‍याएर एजेण्ट भागेपछि भोक भोकै परेका बेला साने परियारलाई एजेण्टले नै चिनाएका एक भारतीय नागरिकले भने ‘तिमीहरुलाई म टिकट काट्दिन्छु, तर मेरो सामान लानुपर्छ ।’

भारतीय नागरिकको त्यो बोली बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो । किनकि उनीहरूलाई यूएईमा राम्रो काम र कमाइको प्रलोभन देखाएर लैजाने एजेण्ट सम्पर्क विहीन भइसकेका थिए ।

त्यो बेला उनीहरूको साथमा न बस्ने बास थियो न खाने गाँस । कमाउन गएको मानिस भोक भोकै परदेशी भूमिमा मर्नुभन्दा भारतीय नागरिकको सामान बोकेर भए पनि स्वदेश फर्कने निधो गरे साने र उहाँका साथीले ।

‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’

भिजिट भिसाले झण्डै ज्यान लियो 

तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो । साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न पर्‍यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन । त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो । 

‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ । 

परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।

‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ । 

एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।

भने अनुसार नै सबै कुरा गर्नुभयो । साना  किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना ‍२२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे । 

यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।

एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे । 

एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए । काम भने चकलेट प्याक गर्ने हो भनेका थिए । 

यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए । त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो । 

साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’

एजेण्ट भागेपछि ट्वाइलेटको पानीले प्राण धान्यौँ

साहु छुटेपछि काममा लगाइदिनहुन्छ भनेका एजेण्टको व्यवहार बिस्तारै फेरिन थाल्यो । १५ दिनपछि त्यहाँको बन्दोबस्त मिलाउने एजेण्ट नै सम्पर्क विहीन भए । न फोन लाग्यो न जाने बेलामा केही भने ।

त्यही एजेण्टको बोलिमा विश्वास गरेर यूएई पुगेका उनीहरू एजेण्ट नै हराएपछि बिचल्लीमा परे । एजेण्ट नै भागेपछि भने सानेसहित उहाँका साथीलाई अर्को समस्या आइपर्‍यो । आफ्नो नाम मात्र लेख्न जान्ने उनीहरूलाई विदेशको ठाउँमा कहाँ जाने, के गर्ने भन्ने थाहै भएन । 

खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ । 

‘काम लगाइदिन्छु भन्दा भन्दै एजेण्ट नै भाग्यो, हामी त कहाँ जानु कसलाई भन्नु, केही पत्तै भएन,’ साने भन्नुहुन्छ,‘न पढ्न लेख्न आउने ।’

एजेण्ट भागेको एक महिनासम्म उनीहरू त्यही ठाउँमा आधा पेट खाएर दिन कटाउन थाले । एउटा कोठामा ८ जना पालैपालो सुत्थेँ ।

सानेका साथी गणेश परियार भन्नुहुन्छ ‘जिन्दगीमा त्यत्तिको दुःख त कहिले पनि भोग्न परेको थिएन ।’

खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ । 

घरमा फोन गर्नुहुन्थ्यो बेला बेलामा । घरका मानिससँग पनि रुनु बाहेक अर्को विकल्प थिएन । 

‘आफ्नो समस्या सुनाउँदा घरमा पनि रुने, हामी पनि रुने, रुदा रुँदै फोन काटिन्थ्यो ’ साने सुनाउनुहुन्छ ।

पहिले एजेण्टलाई चिनाउने भान्जी पर्ने निशा परिवारलाई पनि आफ्नो समस्या सुनाउनुभयो । तर भान्जीले पनि आफूले चिनेको मात्र भएको र आफ्नो त्यसमा कुनै हात नभएको बताइन । भान्जी निशामार्फत नै उनीहरूले एजेण्ट रुपेश कुमार ठाकुर र नवराज तामाङलाई चिनेका थिए । उनीहरूले नै यूएई पठाएका थिए ।

कुनै विकल्प नभेटेपछि उनीहरूले एजेण्टले नै चिनाएका एक भारतीय नागरिकलाई आफ्नो समस्या सुनाए । 

उनले निःशुल्क टिकट काटिदिने तर त्यसका लागि आफ्नो सामान लैजान पर्ने सर्त राखे । 

‘उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो । 

सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए । 

‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह गर्‍यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।

‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’

गएको असारमा दुबई विमानस्थलबाट उड्नुभन्दा अघि आठै जानालाई कालो कपडाको पाइन्ट लगाउन लगाए । कपडामा खरानीजस्तो धुलो राखेर सिलाएको थियो ।

‘पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो । 

एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो । 

‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’

भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।

‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ ।

 चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए । 

उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए । उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए । 

त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू । 

सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।

त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।

त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू । 

आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ । 

आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।

‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन पर्‍यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ । 

एजेण्टको अर्को झुट

विदेशमा काम र कमाइ नभएपछि उहाँहरूले आफूले तिरेको रकम भए पनि फिर्ता गर्न एजेण्टसँग माग गर्नुभयो । भान्जी निशामार्फत मुख्य एजेण्टहरुलाई सम्पर्क गर्नुभयो । एजेण्टले रकम दिन्न भनेन । तर ६ महिना बित्दा पनि दिएनन् पनि ।

उनीहरू एजेण्टले नै पैसा दिन्छन् कि भन्ने आशमा १० पटकभन्दा धेरै काठमाण्डौ धाइसके । तर धादिङबाट काठमाण्डौ आइपुग्दा पैसा दिन्छु भन्ने एजेण्ट कि त फोन उठाउँदैनन् कि त मोबाइलको स्विच आफ गरिदिन्छन् । 

‘दिन्छु भन्छन्, यहाँबाट काठमाण्डौ जान्छौँ, यो ठाउँमा आइज भन्छन् त्यहाँ जान्छौँ तर एजेण्ट आउँदैनन् ’ साने भन्नुहुन्छ ‘फेरि भोलि आइज भन्छन् भोलि त फोन नै लाग्दैन ।’

भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’

यता साना किसान कृषि सहकारीले ऋण तिर्नको लागि ताकेता गरिरहेको छ । भएको घर र जायजेथासमेत सहकारीमा राख्नुभएका सानेलाई अब बालबच्चा कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ । 

‘काम त दिन सकेन, त्यो भुमरीमा मर्नका लागि छोडिदियो तर बाँचेर फर्किएका हामीलाई तिरेको रकम त दिए हुने नि,’ उनीहरू भन्छन् ।

राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् । केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । 

उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ । 

भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’

अन्तिम अपडेट: चैत १५, २०८०

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

1 Comments

  • Jhabindra Bhandari

    Jan. 4, 2022, 7:23 p.m.

    सम्बन्धित सरकारी निकाय र पुलिस प्रसासनले आबस्यक कागजात हेरि उनिहरुले गुमाएको सर्वस्व सहित दोषीलाई कार्बारवाहीको दायरामा ल्याउन सक्नुपर्छ ! आखिर धन कमाउने लोभ र बाध्यतामा यसरी कति मानिस कहिले सम्म ठगिने हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया