प्रचण्ड देशकै अभिभावक : देव गुरुङ

 पुष २१, २०७८ बुधबार १४:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देशकै अभिभावका रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ । 

नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनुभएको हो । उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनुभयो । 

आज बुधवार हामीसँगकाे कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिनुभयो । उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेता गुरुङले भन्नुभयो, ‘पार्टी निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यकताअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो । नेतृत्वकाे सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा, जनयुद्धकाे अघिदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रियालगायतमा उहाँकाे नेतृत्वले देशकै निम्ति एउटा अभिभावक जस्तो, संरक्षक जस्तो भूमिका दिएकाे छ । र अहिले पनि उहाँकै नेतृत्व हुनु स्वाभाविक कुरा हो । अरू नेतृत्वकाे टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रीकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकाले उहाँले नै टिम बनाउने कुरा हो । कस्तो टिम बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने कुरा उहाँले नै बनाउने कुरा हो । पार्टी कमिटीमा छलफल गरेर, पार्टी कमिटीले निर्णय गर्ने विषय हो । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा ढिला भएको हुनुपर्छ । पदाधिकारी गठनको सन्दर्भमा स्थायी कमिटीकै सदस्य वर्षमानजी उपचारमा नै रहनुभएकाले उहाँले म नफर्कँदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी–विरोध रहन्छ भन्ने प्रकारको कुरा रहेकाले सायद केही समय कुर्ने भन्ने रूपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते बैठक बस्ने भनिएको छ, त्यसमा टुङ्गोमा पुगिएला भन्ने लाग्छ ।’

नेता गुरुङले वर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकाले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताउनुभयो । नेता गुरुङले आफूले अहिलेसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि चुनाव गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको चुनावले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया