रुकुम पूर्व : हिमपातले विकासे आयोजनाका काम ठप्प

 पुस २२, २०७८ बिहिबार १२:५२:२३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - लगातारको हिमपातको कारण रुकुम पूर्वमा निर्माणाधीन विभिन्न आयोजनाहरु प्रभावित भएका छन् ।

गएकाे पुस १३ गतेदेखि भएको हिमपातको कारण जिल्लाको सिस्ने गाउँपालिका-१ मा निर्माणाधीन पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ । 

यही माघको महिनासम्म सम्पन्न गरिसक्नुपर्ने  विद्युत् आयोजनाको कामलाई हिमपातले असर गरेको हो । नियमित बाक्लो हिउँ पर्न थालेपछि कार्यस्थलमा रहेका प्राविधिक कर्मचारी र कामदारहरु सबै फिर्ता भएको बताइएको छ ।

हिउँ नबिलाउँदासम्म काम सुरु गर्न सकिने अवस्था नरहेको १ नम्बर वडाका वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । गएकाे आर्थिक वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना भाइरसको कारण सामान ढुवानीमा प्रभाव परेर सम्पन्न हुन सकेको थिएन ।

निर्माण सम्पन्नको चरणमा आइपुग्दा हिमपातको कारण फेरि पछाडि धकेलिएको वडा अध्यक्ष बुढाले बताउनुभयो । श्रमदानसहित ३ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

हिमपातकै कारण आयोजनाको लागि निर्माण स्थलमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट समेत खेर जाने अवस्थामा पुगेकाे वडाध्यक्ष बुढाले बताउनुभयाे । देउखोलाबाट दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट बिग्रिँदा थप समस्या भएको उहाँको भनाइ छ ।

यही वडामा रहेको नेपाल टेलिकमको टावर निर्माण कार्य पनि बन्द भएको छ । यतिमात्र नभएर वडाबाट सम्झौता भइ सञ्चालन भएका सबै विकासे कामकाजहरु ठप्प अवस्थामा रहेको वडाले वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १, २, ३ र ५ मा पनि सञ्चालन भइरहेका विभिन्न विकासे योजनाहरुको कामकाज ठप्प भएको छ । त्यस क्षेत्रमा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउने, तारबार, धारो, कुवा, म्युजियम निर्माणको कामहरु सबै रोकिएको १ नम्बर वडा मैकोटका कार्यवाहक वडाध्यक्ष मग कामीले बताउनुभयो ।

गएको हप्तामा जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातले मानिसको दैनिकी कष्टकर त बनेको छ नै, विकासे योजनाहरुको कामकाज पछि धकेलिने भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया