कोरोनाले बेरोजगार हुनुभएकी अनितालाई वित्तीय साक्षरता कक्षाले व्यवसायी बनायो

 पुस २३, २०७८ शुक्रबार १७:२:२५

रोमन अधिकारी, तनहुँ ।

तनहुँ – भन्छन् नि – जहाँ इच्छा त्यहाँ उपाय । यो भनाइलाई सार्थक तुल्याउनुभएको छ भानु–७ तनहुँकी २५ वर्षीयकी अनिता श्रेष्ठले । 

कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म अनिता बोर्डिङ स्कुलकी शिक्षिका हुनुहुन्थ्यो । तर कोरोना महामारीले स्कुलहरू बन्द हुँदा आम्दानीको बाटो पनि बन्द भयो । पहिलो लकडाउनले लामो समयसम्म तलब विहीन हुन पर्‍यो । बीचमा स्कुल त खुल्यो तर पुनः कोरोनाले बन्द नै भयो ।

जागिरको अनिश्चित भएपछि उहाँकाे केही समय अन्योलमा बित्यो । उहाँको अन्यौलतालाई वित्तीय साक्षरता कक्षाले सहीबाटाे दियो । उहाँ महामारीकै बीचमा व्यवसायी बन्नुभयो । 

अनिताका श्रीमान् चार वर्ष अघि वैदेशिक रोजगारीमा मलेसिया जानुभयो । एक वर्षको सानो छोरा र घर व्यवहारको जिम्मेवारी उहाँकै काँधमा छाडेर जानुभएको थियो श्रीमानले ।

स्कुलमा जागिर गर्दै घर व्यवहार सम्हाल्दै हुनुहुन्थ्यो उहाँ । तर कोरोनाको कारण जागिर गुमेपछि केही समय त बेरोजगार नै हुन पर्‍यो । वैदेशिक रोजगारीबाटै घर व्यवहार चलाउने अवस्था पनि आयो ।

तर यही बीचमा अनिता ग्रामीण सशक्तीकरण समाज र भानु नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत वित्तीय साक्षरता कक्षामा सहभागी हुनभयो । यो कक्षामा परदेशीका परिवारलाई सहभागी गराइन्छ । 

‘कक्षामा मैले व्यावसायिक योजना, लघु व्यवसाय, विप्रेषणको सही प्रयोग, बचत गर्ने कुराहरु लगायतका कुराहरू सिकेँ, जागिर पनि नभएको बेलामा त्यहाँ सिकेका कुराले त मलाई केही गर्न ठुलो प्रेरणा दियो ’ अनिता भन्नुहुन्छ ‘अघिपछि अरूलाई पढाउँथेँ तर आफैले कक्षमा पढ्दा निकै फरक हुने रहेछ, कक्षामा पढेका कुराहरू त आँखा अगाडि झलझली ऐना झैँ देख्न थालेँ मैले त ।’

त्यसपछि अनिताले आफैँले व्यवसायिक योजना बनाउनुभयो । अनितालाई व्यवसाय गर्दा सकेसम्म कम लगानीमा गर्न सकिने र स्थानीयको माग अनुसार गर्नुपर्छ भन्ने लाग्यो । यसो हुँदा घाटा कम हुने उहाँको आकलन थियो । 

कोरोनाले स्कुल खुल्ने टुङ्गो नभएपछि उहाँले परदेशमा रहेका आफ्नो श्रीमानसँग पनि सल्लाह गर्नुभयो । एक लाख ५० हजार लगानी गरेर झण्डै सात महिनाअघि पसलको सुरुवात गर्नुभयो । 

पसलका लागि गाउँमै उहाँले १७ सय मासिक भाडा तिर्ने गरी सटर भाडामा लिनुभयो । सुरुवातमा खाजा, चटपटे लगायतका कुराहरू बेच्न थाल्नुभयो । 

सुरुवातदेखि नै अनिताले सोचेजस्तो हुँदै गयो व्यवसाय पनि ।

अहिले त अनिताले पसलबाट भएको आम्दानीले रेडिमेड कपडासमेत राख्नुभएको छ पसलमा । मासिक खर्च कटाएर १५ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ पसलबाट ।

उता मलेसियामा श्रीमान् मार्केटिङको काम गर्छन् । श्रीमानको ५० हजार रुपैयाँ छ मासिक तलब । दुवैले आम्दानी गर्न थालेपछि खुसी छन् उनीहरू आजकाल ।

अरूको जागिरमा भर परिरहेकी अनितालाई आजकाल आफैँले काम गरेपछि लाग्न थालेको छ – मेहनत गरेपछि सफलता पाइने रहेछ ।

उहाँ आफ्नो यही अनुभव अरू साथीभाइसँग पनि साट्नुहुन्छ ।

अनिताले पनि कमाउन थालेपछि खर्चभन्दा आम्दानी बढेको छ । उहाँ आफ्नो दैनिक खर्च र आम्दानीको हिसाब पनि राख्नुहुन्छ । 

भन्नुहुन्छ ‘आम्दानी र खर्चको हिसाब राख्दा पनि निकै फाइदा हुने रहेछ, बचत बढाउन सजिलो हुने रहेछ ।’

अनिता श्रीमानको कमाइ बचत गर्नुहुन्छ ।  आफ्नो कमाइले घर खर्च गरेर आफैँ बचत पनि गर्नुहुन्छ ।

‘श्रीमानको कमाइ बचत गर्नु र आफ्नो कमाइ बचत गर्नुमा निकै फरक हुने रहेछ, आफ्नो कमाइले आत्म सन्तुष्टि दिने रहेछ’ अनिता खुसी हुँदै भन्नुहुन्छ ।

व्यवसायलाई अझै बढाउने उहाँको योजना छ । थप बढाएर व्यवस्थित बनाउन पाए परदेशी श्रीमानलाई पनि नेपाल बोलाएर सँगसँगै काम गर्ने सपना बुन्नुभएको छ उहाँले । 

(रोमन अधिकारी सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत तनहुँमा वित्तीय साक्षरता सहजकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: चैत १७, २०७८

तपाईको प्रतिक्रिया