साञ्जेन जलविद्युत् आयोजनाको ८३ प्रतिशत काम सकियाे

 पुस २६, २०७८ सोमबार ९:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको साञ्जेन जलविद्युत् आयोजनाको ८३ प्रतिशत काम पूरा भएको छ । आयोजनाले अहिले बाँध, सुरुङ र विद्युत् गृहको काम एकसाथ गरिरहेको छ । 

बाँध क्षेत्रको इन्टेक, डिसेन्डर लगायतको निर्माण कार्य ९२ प्रतिशत पूरा भएको छ । आयोजनाको तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङको निर्माण सम्पन्न गरेर सर्पोटको काम गरिरहेको छ । विद्युत् गृहको सिभिल संरचनाको काम सम्पन्न गरी पर्खालको ढलानको काम भइरहेको आयोजनाले जनाएको छ ।

इलेक्ट्रोमेकानिकलतर्फ उपकरण डिजाइन, जडान र आयातको काम भइरहेको छ । यसको काम ६० प्रतिशत पूरा भएको छ । कोभिड–१९ का कारण सामग्री समयमा नै आयात गर्न नपाउँदा जडानको काम ढिलो हुन पुगेको हो । 

आयोजनाको हाइड्रोमेकानिलतर्फ ७९ प्रतिशत काम पूरा भएको छ । यसमा कनेक्टिङ पाइप, साइफोन पाइप, इन्टेक गेट लगायतका काम पूरा भएको छ । आयोजनाले अबको १० महिनामा उत्पादन सुरु गर्नेगरी काम गरिरहेको छ । प्रसारण लाइन निर्माण अन्तर्गत ५.९ किलोमिटरमा पर्ने २० वटा टावर निर्माण कार्य सकिएको छ ।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हबमा गएर जोडिने छ । आयोजनाहरूबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ । 

४२.५ मेगावाट क्षमताको आयोजनाको निर्माणकार्य २०६९ सालदेखि सुरु भएको थियो । एसईडब्ल्यू टुन्डी जेभीले निर्माण गरिरहेको छ । सिभिलमा एसईडब्ल्यू टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।

भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापर्बाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । यो आयोजना निर्माणका लागि ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया