विश्वकै लामो रेडियाे अन्तर्वार्ता लिएर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे कीर्तिमान

 पुष २७, २०७८ मंगलबार १८:९:३० | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान बनाउनुभएको छ ।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको कीर्तिमान भङ्ग गर्दै नेपालको तर्फबाट विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

'पर्यटन र जलवायु परिर्वतनका असर' विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गएको कात्तिक २२ गते सोमवार बिहान ७ः३५ बजे सुरु भइ कात्तिक २३ गते मङ्गलवार बिहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाण्डौमा भएकाे थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले हिजाे सोमवार मान्यता दिएको थियाे । 

आधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्त्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताउनुभयो । आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ ।

पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत महत्त्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायु परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तर्वार्ताबाटमार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिर्वतनको न्यूनीकरणमा विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले याे अन्तर्वार्ता आयोजना गरिएको उहाँको भनाइ छ ।

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेल विज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबीसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको कीर्तिमान थियो ।

सोलुखुम्बुका पत्रकार निरौलासँग पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह गरी रेडियो, टेलिभिजन र पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पासँग पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया