साेलुखुम्बुमा पत्रकारमाथि हातपात गर्ने तीनै जना कांग्रेस कार्यकर्ता पक्राउ परे

 पुस २९, २०७८ बिहिबार १८:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि हातपात गर्ने तीन जना कांग्रेस कार्यकता पक्राउ परेका छन् ।

गएकाे मङ्सिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको समाचार सङ्कलनमा खटिएका पत्रकारहरूलाई हातपात गर्ने तीन युवा पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेविसङ्घ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत र नेविसङ्घ माप्यदूधकोसी अध्यक्ष विभूषण राई रहेका छन् ।

उनीहरूले समाचार सङ्कलनमा खटिएका सुवास दर्नाल (उज्यालो सोलुखुम्बु सहकर्मी) र रमन बनमाथि हातपात गरेका थिए । उनीहरूविरुद्ध पीडित पत्रकारद्वारा अभद्र व्यवहारअन्तर्गत मुद्दा दायर गरेका थिए । 

घटनालगत्तै तीनै जना फरार भएका थिए । तर हिजाे बुधवार जीवन बस्नेत माप्यदूधकोसी गाउँपालिका ४ मा रहेकाे आफ्नै घरबाटै पक्राउ परेपछि अरू दुई जना पनि आज बिहीवार सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पक्राउ परेका तीनै जना अहिले प्रहरीको हिरासतमा रहेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया