सुकेटार विमानस्थल स्तरवृद्धिको काम ८५ प्रतिशत सकियो (तस्बिरहरू)

 पुस ३०, २०७८ शुक्रबार १३:४६:५४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिकाे काम ८५ प्रतिशत सकिएकाे छ । कोभिड–१९ को सङ्क्रमण जाेखिम रहेकाे अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ । 

आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्याे बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो । 

ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिलेसम्ममा ८५ प्रतिशत प्रगति गरेको याे आयोजनाको काम हेरिरहनुभएका सुकेटारमा रहेकाे नेपाल नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत सुजन गिरीले टेलिफोनमार्फत बताउनुभयो ।  

काम सुरु भएको दुई वर्ष अर्थात् २०७८ साल असोजभित्रमा सक्नुपर्ने भए पनि काेराेनाका कारण ६ महिना अर्थात् चैत्रसम्म म्याद थपिएको छ । 

ठेकेदार कम्पनीका प्रमुख भीमसेन भण्डारीका अनुसार विमानस्थलको पूर्वतर्फ रहेको डाँडालाई सम्याउने काम सकिएको छ । त्यस्तै ग्याबिन तार, ड्रेन निर्माण लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो ।

अब धावन मार्गलाई कालाेपत्र (पिच) गर्ने काम मात्र रहेको उहाँले जानकारी दिनुभयो । अहिले अत्यन्तै चिसो भएका कारण पिच गर्न समस्या भएको र माैसम तातो हुनासाथ त्याे काम गरेर प्राधिकरणलाई बुझाउने भण्डारीले बताउनुभयो । धावन मार्ग पिच गर्न ग्राभेल गरी ठिक्क पारेको उहाँकाे भनाइ छ । 

सदरमुकाम फुङलिङ बजारदेखि आठ किलोमिटरको दूरीमा उत्तर–पूर्वमा रहेको सुकेटार विमानस्थल २०२८ सालमा बनाइएकाे हो । यस्तै आजभन्दा झन्डै सात वर्षअघि विमानस्थलको लम्बाइ सात सय र चाैडाइ २० मिटर कायम हुने गरी कालोपत्र गरिएको थियो । अहिले कायम रहेको लम्बाइ सात सय मिटरबाट बढाएर नाै सय मिटर बनाउने गरी स्तरवृद्धिको काम भइरहेकाे छ । नालीसहितको धावन मार्गबाहेक यात्रु प्रतीक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माण लागयतका काम पनि हुनेछ ।  

विमानस्थल समयमै स्तरोन्नति र स्तरवृद्धि नभए पनि नियमित उडान भने नरोकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले बताउनुभयो । नियमित उडान नहुँदा भने जिल्लाको पर्यटन विकासमा बाधा पुग्दै आएको छ । सुकेटारमा नियमित उडान नभएकै कारण विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित यहाँको पर्यटकीय स्थलको भ्रमण गर्ने बाह्य पर्यटकको उपस्थिति न्यून रहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

विमान नियमित नहुँदा पर्यटन गतिविधि शिथिल

सुकेटार विमानस्थलमा अहिले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले हप्ताको चार दिन सेवा दिने गरेको छ । वायु सेवा निगमले साेमवार, बुधवार, शुक्रवार र शनिवार सेवा दिँदै आएको छ भने सीता एअरले शुक्रवार सेवा दिँदै आएको निगम ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो । सुकेटार विमानस्थल वर्षामा कुहिरोले ढाकिरहन्छ भने हिउँदमा हिउँ परेर हवाई सेवा प्रभावित हुने गरेको छ । 

क्याप्टेन रवीन्द्र डङ्गोलले बारम्बार कुहिरो लागिरहने भएकाले कहिलेकाहीँ उडान र अवतरणमा समस्या हुने बताउनुहुन्छ । जहाज ताप्लेजुङ प्रवेश गरी सकेपछि अवरतरण गर्न दुई मिनेट पनि नलाग्ने तर त्यहीबीचमा कुहिरोले अवराेध गर्दा समस्या हुने गरेकाे उहाँले सुनाउनुभयो । 'एअर फायर एप्राेज' प्रविधि जडान गरे सुकेटारमा १२ महिनै जहाज चल्ने र सधैँलाई सहज हुने डङ्गाेलकाे भनाइ छ । 

ताप्लेजुङ जिल्लामा रहेको नेपालकै चर्चित पाथीभरा देवीको दर्शन गर्न बर्सेनि तीन लाख जनाकाे हाराहारीमा मानिसहरू आउने गरेका छन् । नियमित उडान हुने हाे भने कञ्चनजङ्घासहित अन्य पर्यटकीय क्षेत्रमा पर्यटक बढ्ने जिल्लावासी सुनाउँछन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया