रसुवागढी नाकामा वितरण गरिने 'चाइना पास' एक वर्षदेखि राेकियाे

 माघ १, २०७८ शनिबार ९:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीन प्रवेश रसुवाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण एक वर्षदेखि रोकिएको छ ।

कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मंसिर २७ गतेदेखि पास वितरण रोकेको छ । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो ।

‘गएको एक वर्षदेखि हामीले पास जारी गरेका छैनौँ’, उहाँले भन्नुभयो, ‘नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो ।’ नाका पूर्ण रूपमा सञ्चालन आएपछि पास वितरणलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

चीनसँग सिमाना जोडिएको रसुवा जिल्लाका नागरिक चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो । एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ ।

रोजगारीका लागि प्रचुर सम्भावना रहेकाले केरुङ जानका लागि यहाँका करिब १२ हजार जनाले चाइना पास बनाएका थिए । कार्यालयले २०७२ असोज २८ गतेदेखि पास जारी गर्न थालेको हो । त्यसयता जिल्लाका १२ हजार १ सय ४३ जनाले पास लिएका कार्यालको तथ्याङ्क छ । 

त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो । कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनु पर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको सङ्ख्या बढेको थियो ।

केरुङमा करिब एक हजार नेपाली कार्यरत थिए । त्यहाँ रहेका नेपालीमध्ये प्रायजसाे होटल, डान्सबार, ट्रान्सपाेर्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा कार्यरत थिए । 

नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा लिएकामध्ये करिब २५ प्रतिशत रसुवाका नागरिकले केरुङमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काम गरिरहेका थिए। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया