खोपको कुनै अभाव छैन, अझै ४ करोड डोज मौज्दात छ : स्वास्थ्य मन्त्री खतिवडा

 माघ ३, २०७८ सोमबार १५:१७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज काेराेनाकाे खाेप मौज्दात रहेको जानकारी दिनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् ।

सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मोरङमा आज बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको नीति रहेको बताउनुभयो । स्वास्थ्य मन्त्री खतिवडाले खोप पर्याप्त मौज्दात रहेकाले कुनै पनि समस्या नरहेको र छुटेकाहरुलाई लगाउन आग्रह गर्नुभयो । 

छुटेकाहरुका लागि नियमित खोप कार्यक्रमसँगै बुस्टर डोज खोपको अभियान यसैहप्तादेखि सुरु भएको छ । काठमाण्डौका १७ ठाउँबाट आजदेखि अग्रपंक्तिमा खटिनेलाई खोपको बुस्टर मात्रा दिन थालिएको छ । 

स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी र नौ वटा निजी गरी १७ अस्पतालबाट बुस्टर डोज खोप दिन थालिएको हो । बुस्टर मात्रा लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । 

आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिकालाई बुस्टर मात्रा दिने सरकारको तयारी छ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि त्यहि खोप लगाउनुपर्छ । सरकारले ओमिक्रोन भाइरसको रोकथाम, उपचार एवं नियन्त्रण गर्न आवश्यक तयारी गरिसकेको भन्दै मन्त्री खतिवडाले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया