२० देखि २४ लाख डाेज खोपको तथ्याङ्क नै भेटिएन : स्वास्थ्य सचिव

 माघ ४, २०७८ मंगलबार १७:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताउनुभएको छ । 

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई जानकारी गराउनुभयो ।

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि खोप अनिवार्य रहेको र सबै नागरिकलाई खोपको तत्काल व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । त्यसैगरी गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकालाई घरघरैमा पुगेर खोप लगाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो । 

समितिले होल्डिङ सेन्टर छिटो सञ्चालनमा ल्याउन, सीमा क्षेत्रका सङ्क्रमण हुन नदिन कडा निगरानी गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसकी सांसद एवम् पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले निःशुल्क पीसीआर टेष्ट गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । बैठकमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य सचिव पोखरेलले सरकारले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh Bhattarai

    Jan. 18, 2022, 8:17 p.m.

    नेता र पहुँचवालाहरुले कोठा-चोटा र होटलमा लगेर आफन्त र भोटरहरुलाई रेकर्डै नराखी खोपको ब्यबस्था गरेको कारण तथ्यांक नभेटिएको हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया