सडक विस्तार भएसँगै संखुवासभाको रसिलाे सुन्तला धरान र बिराटनगरसम्म पुग्यो

 माघ ५, २०७८ बुधबार १३:१४:४१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाका सुन्तला जिल्ला बाहिर धरान र बिराटनगरतिर निर्यात हुन थालेको छ ।

पछिल्लो समय बिराटनगर देखि धरान हुँदै संखुवासभाको सदरमुकाम खाँदबारी सम्म सिधा यातायात सेवा जोडिएका कारण यहाँको सुन्तला जिल्ला बाहिर निर्यात हुन थालेको हो । अहिले बिराटनगर देखि धरान–लेगुवा–सदरमुकाम खाँदबारी सम्म सडक कालोपत्रे भएको छ । 

धरानदेखि सदरमुकाम खाँदबारीसम्म कालोपत्रे सडक जोडिएका कारण यहाँबाट सुन्तला जिल्ला बाहिर निर्यात हुन थालेको खाँदबारी–४ पाङ्माका कृषक प्रमोद राईले बताउनुभयो । उहाँले यसअघि सम्म संखुवासभाका सुन्तला खाँदबारी र तुम्लिङटार लगायतका स्थानीय बजारमा बेच्नु पथ्र्यो तर अहिले धरान र बिराटनगरका ब्यापारीहरु गाउँ–गाउँ नै आएर बगान नै ठेक्का लिन थालेको बताउनुभयो ।

‘मेरो त ठूलो बगान छैन, बारीमा २०/२५ वटा सुन्तलाको बोट छ, मैले सबै ४० हजार रुपैयाँमा ठेक्का दिएँ, उनीहरुले नै बोटबाट टिपेर लैजान्छन्’, राईले भन्नुभयो, ‘ खुद्रा बेचेर एक÷दुई सय रुपैया संकलन गर्नुभन्दा एकमुष्ट बेच्दा हामीलाई पनि केही काम हुन्छ, मेरो मात्रै होइन छिमेकीहरु धेरै जनाको ब्यापारीले गाडीमा एकैपटक लैजाने गर्छन् ।’ 

खाँदबारी–४ को गैरीपाङ्मा, लोकेपाङ्मा, डाँडापाङ्मा लगायतका तीन गाउँमा अत्याधिक मात्रामा सुन्तला उत्पादन हुने गर्छ । त्यसैगरि खाँदबारी–५ को माल्टा र लेलुवामा सुन्तला राम्रो उत्पादन हुन्छ । यो वर्ष माल्टा र लेलुवाबाट करिब १० गाडी भन्दा बढी सुन्तला जिल्ला बाहिर निर्यात भएको स्थानीय प्रकाश घलेले बताउनुभयो । 

धरानका व्यापारी आएर बगान नै ठेक्का लिई सबै सुन्तला लगेको उहाँको भनाइ छ । ‘गाउँमा नै व्यापारीहरु आए, सानाठूलो सालाखाला एक सय रुपैयाँको २० दानाको दरले बेचियो । खुद्रा थोरै–थोरै बेच्नु भन्दा अलि सस्तो भए पनि एकैपटक सबै दिँदा घर खर्च टर्छ, त्यसैले गाउँका सबैले त्यसरी नै बेचे’, घलेले भन्नुभयो ।

सिलिचोङ गाउँपालिकको माङतेवा र याफु लगायतका क्षेत्रबाट समेत सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । हिउँदमा कच्ची सडकले सिलिचोङ जोडिएपछि त्यहाँका सुन्तला व्यापारीहरुले धरान बिराटनगर लैजाने गरेको स्थानीयहरु बताउँछन् ।

संखुवासभाबाट ठूलो मात्रामा सुन्तला जिल्ला बाहिर निर्यात हुन थाले पनि यसको आधिकारिक तथ्याङ्क लिने निकाय नहुँदा कति रकमको निकासा हुन्छ भन्ने एकिन भने छैन् । संखुवासभाको सुन्तला स्वादिलो र गुणस्तरीय भएकाले पनि राम्रो बजार पाउने गरेको छ । संखुवासभाका विभिन्न ठाउँमा सुन्तला खेतीका लागि माटो र हावापानी उपयुक्त मानिएकाले बर्सेनि सुन्तला खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ ।

सुन्तला पकेट कार्यक्रमप्रति कृषकहरु आकर्षित

जिल्लाको खाँदबारी–४ को गैरीपाङ्मा, लोकेपाङ्मा, डाँडापाङ्मालाई सुन्तला पकेट कार्यक्रम लागु गरिएको छ । सुन्तला पकेट कार्यक्रमप्रति स्थानीयहरु आकर्षित हुन थालेका छन् । गत वर्ष मात्रै कृषि ज्ञान केन्द्रद्वारा ती क्षेत्रमा जनश्रमदानसहित करिब ४२ लाख रुपैयाँको कार्यक्रम लागु गरिएको थियो । 

सुन्तला पकेट कार्यक्रम लागू भएपछि गैरीपाङ्मा, लोकेपाङ्मा, डाँडापाङ्माका कृषकहरु सुन्तला खेतीप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्दप्रसाद आचार्यले बताउनुभयो । यस्तै यो क्षेत्रमा सुन्तला पकेट कार्यक्रम लागू भएपछि कृषकहरुलाई सुन्तलाको बिरुवा, मलबिउ, औषधि उपचार लगायत सेवा सुविधा उपलब्ध गराइएको उहाँको भनाइ छ ।

‘संखुवासभामा गत वर्ष देखि नै सुन्तलामा औंसा किराको प्रकोप देखिएको थियो । तर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरेपछि यो वर्ष प्रकोप केही नियन्त्रण भएको छ’, आचार्यले भन्नुभयो–‘जिल्लाभरको कति सुन्तला उत्पादन भयो भनेर अहिले नै सबै रिर्पोट आइसकेको छैन तर गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन बढ्ने देखिन्छ ।’

संखुवासभाको विभिन्न क्षेत्रमा उत्पादित सुन्तला त्यहीँको खाँदबारी, तुम्लिङटार लगायतका स्थानीय बजारमा प्रतिकिलो १ सय देखि एक सय ५० रुपैयाँ सम्म किनबेच भइरहेको छ । जिल्ला कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्याङ्क अनुसार, आर्थिक बर्ष ०७६/७७ मा एक हजार ३ सय ८७ मेट्रिक टन र आर्थिक वर्ष ०७७/७८ मा एक हजार ७ सय ९२ मेट्रिक टन सुन्तला उत्पादन भएको देखिन्छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया