चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितिको बैठक

 माघ ७, २०७८ शुक्रबार ७:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डौ - वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा छ ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आजसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा छ । 

पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बोलाइएको छ ।पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकाको चुनाव सारेर पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । तर सत्तारुढ दल र कांग्रेसभित्रै यस विषयमा सहमति जुटेको छैन ।

सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ । वैशाखमा सङ्घीय संसद्को चुनावमा जाँदा प्रतिनिधि सभा विघटन गर्नुपर्ने र यो फेरि अदालती विषय बन्न सक्ने भएकाले गठबन्धनका नेताहरुले निर्णय गर्न सकेका छैनन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा सङ्घीय चुनाव गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि बसेको समन्वय समितिको बैठकमा राख्नुभएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको चुनाव एकैपटक गर्दा उपयुक्त हुने बताउनुभएको थियो । 

वैशाखमा सङ्घीय चुनाव गर्नु उपयुक्त हुने नेता नेपालको पनि धारणा छ । तर वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव पछि धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा के गर्ने भन्ने निर्णयमा पुग्नुभएको छैन ।संविधानविद्हरुले पनि पालिकाको चुनाव पर धकेल्नु संविधानको मर्म विपरीत हुने बताउँदै आएका छन् ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया