राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

 माघ ९, २०७८ आइतबार ११:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ ।

निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ ।

निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगले नेपालको संविधानको धारा दुई सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश भएकाले त्यो हटाउन भनेको छ ।  

यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रङ्ग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएको वर्ष नै निर्णय भएको भन्दै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आयोगले निर्देशन दिएको  हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया