'आन्तरिक हवाई उडानमा मास्क लगाए पुग्छ'

 माघ ९, २०७८ आइतबार ११:४२:४६ | रवीन्द्रबहादुर बस्नेत
unn.prixa.net

कोभिड-१९ को महामारी पुनः बढ्न थालेपछि देशको आर्थिक क्रियाकलापमा थप गतिरोध हुने हो कि भन्ने चिन्ता र चासो बढेको छ । झण्डै पुनः स्थापित हुन लय समातिसकेको वस्तु तथा सेवा, उत्पादन, आयात तथा निर्यातजन्य व्यवसाय कोभिड सङ्क्रमितको सङ्ख्यामा भएको वृद्धिसँगै पुनः सङ्कटतिर धकेलिने हो कि भन्ने चिन्ता छाएको छ ।

फेरि लकडाउन वा बन्दाबन्दी हुने त होइन ? हाम्रो जस्तो देशले थप लकडाउन धान्न सक्ला र ? यो बहस तीव्र बनेको छ । यतिबेला सार्वजनिक जीवन पद्धतिमा कडाइ गरिएको छ । विद्यालय, कलेजसहित धेरै मानिस भेला हुने ठाउँ बन्द गरिएको छ । यातायातमा जोर-बिजोर नम्बर लागू गरिएको छ । आन्तरिक हवाई यातायातका लागि त झन् थप कडा गरिएको छ । एन्टिजेन परीक्षण, फेस सिल्ड र खोप कार्ड अनिवार्य गरिएको छ । हाम्रो जस्तो भौगोलिक विकटता, बाढी पहिरोका कारण सडक यातायातमा अवरोध भइरहने देशमा हवाई यातायातलाई झञ्झटिलो र महँगो बनाउनै हुँदैन । जति महँगो परीक्षण हुन्छ त्यो यात्रुको टिकटमा जोडिन्छ ।

विगतका प्रतिबन्धात्मक तरिकाले हामीलाई फाइदा या बेफाइदा के गर्यो भन्ने समीक्षा गरेका छौँ कि छैनौँ ? यसबाट महामारी नियन्त्रण भयो  कि भएन ? विगतको हाम्रो अभ्यासले हाम्रो अर्थतन्त्र कमजोर भएको अर्थविद्हरुले विश्लेषण गरिरहेका छन् । फेरि हामीले त्यही बाटो अपनाउँदा हामी थप कमजोर बन्दैनाैँ?

यतिबेला पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीहरु पढ्दा, हेर्दा लकडाउन, सेमिलकडाउनले कोरोना महामारी नरोकिने प्रशस्त उदाहरण दिएका छन् । खोप लगाउन भौतिक दूरीको पालना नभएको तथा घण्टाैँ लाइन बसेका नागरिकका फोटाहरु देखिएका छन् । अनि लकडाउन, सेमी लकडाउन लगाउनुको के अर्थ रहन्छ ? कोभिडको सङ्क्रमण विश्वव्यापी रुपमै बढिरहेको कुरा जति सत्य हो हाम्रा नीति निर्माताहरुले ख्याल गर्नुपर्ने विषय पनि यो हो कि लकडाउन वा प्रतिबन्धले मात्र कोभिड नियन्त्रण सम्भव छैन । 

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका तथा अस्पताललगायत उपचारका लागि प्रशस्त पूर्वाधार विकास गरेका विकसित देशहरुले पनि त कोभिड नियन्त्रण गर्न सकेका छैनन् । बरु उनीहरुले अर्थतन्त्रलाई चलायमान बनाइराख्न लकडाउन, सेमी लकडाउन अथवा यात्रा विशेषतः आन्तरिक हवाई यात्राका लागि एन्टिजेन परीक्षण, फेस सिल्ड वा खोप कार्डलाई अनिवार्य गरेका छैनन् । काम विशेषले डिसेम्बरको अन्तिमतिर यो पङ्क्तिकार अमेरिका पुगेको थियो । र, दुुई हप्ताभन्दा बढी समय त्यहाँ बितायो । उनीहरुले लकडाउन र अरु प्रतिबन्धात्मक तरिकाभन्दा मास्क, स्यानिटाइजरको प्रयोग र साबुनपानीले हात धुन प्राथमिकता दिएका छन् । आन्तरिक हवाई उडानमा मास्कलाई मात्र अनिवार्य गरिएको छ । 

अर्थतन्त्रमा गत्यवरोध नआओस् भन्नका लागि आर्थिक गतिविधि हुनुपर्दछ । आर्थिक गतिविधि हुनका लागि मानिसको आवतजावतमा कुनै अवरोध नहुनु नै सबैभन्दा पहिलो सर्त हो । कोभिडसँग दीर्घकालीन लडाइँ लड्नु पर्ने निष्कर्षमा पुगेका विकसित देशहरुले राम्ररी विचार गरेरै अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धात्मक तरिकाको साटो सचेतना फैलाउँदै प्रतिरोधात्मक तरिका अपनाएका छन् । र, अर्थतन्त्र चलायमान राखेका छन् ।

संसारका सबैभन्दा विकसित र शक्तिशाली देशहरुले पनि नियन्त्रण गर्न नसकेको कोरोनासँग बन्दाबन्दी वा निषेधात्मकभन्दा सचेतना र प्रतिरोधात्मक तरिकाले लड्नु बुद्धिमानी हुन्छ । जतिसुकै ठूला र सुविधासम्पन्न अस्पताल बनाए पनि त्यसले सडक वा हवाई दुर्घटनाहरुलाई रोक्न सकिँदैन । चालक सचेत भए दुर्घटना टार्न वा रोकिन सकेजस्तै कोभिडबाट बच्न पनि सचेतता आवश्यक पर्छ । संसारका कुनै पनि देशले नियन्त्रण गर्न नसकेको कोरोनालाई नियन्त्रण गर्ने नाममा अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी लकडाउनको सट्टा कोभिडसँग पनि लड्ने र अर्थतन्त्र पनि चलायमान हुने गरी अन्य कार्वाहीलाई प्रोत्साहन गरिनु पर्छ । 

अमेरिकामा मैले गरेको सानो अनुभव पनि सेयर गरिहालौँ । त्यहाँ पछिल्लो समयमा लाखौँ मानिस सङ्क्रमित छन् । पीसीआर गर्न उत्तिकै असजिलो छ । बल्लतल्ल पीसीआर गर्यो रिपोर्ट आउन सामान्यतः चार दिन लाग्छ । पीसीआरको रिपोर्ट तीन घण्टामा चाहिए पाँच सय डलर तिर्नुपर्छ । कोरोनाले अस्तव्यस्त जस्तै बनाएको छ । तर, पनि त्यहाँ लकडाउन गरिएको छैन । कारण एउटै हो, अर्थतन्त्रलाई चलायमान बनाइराख्न ।

हामीकहाँ पनि अरु धेरै समस्या होलान । तर, यस हिसाबले हामीकहाँ धेरै व्यवस्थित रहेको छ । सामान्यतः चार घण्टामा पीसीआर परीक्षणको रिपोर्ट सामान्य शुल्कमा जो कसैले पाउँछ । र, त्यहाँ जस्तो अस्तव्यस्त छैन । तर, अर्थतन्त्रलाई चलायमान बनाउनेतिर हामीकहाँ अमेरिका, युरोप तथा अन्य देशको भन्दा उल्टो स्थिति छ । उनीहरु जीवनका लागि अर्थतन्त्रलाई पनि टेवा दिने ढङ्गले काम गरिरहेका छन् । हामीकहाँ भने अर्थतन्त्रलाई थप जटिलतातिर धकेल्ने प्रयास भएको छ । जेसुकै गरे पनि अबको केही वर्ष कोभिडसँग सँगै रहनुको विकल्प हामीसँग छैन । यस्तो अवस्था थाहा हुँदाहुँदै फेरि पनि प्रतिबन्धात्मक तरिका किन अपनाउने ?

सङ्क्रमितको आँकडाको तुलना गर्ने हो भने अमेरिका र युरोपेली देशहरुको तुलनामा नेपालमा धेरै प्रतिशत कम रहेको छ । यसको अर्थ कोभिड केही पनि होइन भन्ने होइन । नेपाल र खासगरी दक्षिण एसियाली देशका सामान्य नागरिकको चुलो र भात भान्सामा नियमित प्रयोग हुने औषधिजन्य मरमसला, ताजा खानपिन र जीवनपद्धति पनि कोभिडविरुद्ध एउटा भरपर्दाे औषधि साबित भएको विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता प्राकृतिक तत्त्वहरुको प्रयोगलाई अझै प्रोत्साहन गरे कोभिडविरुद्ध लड्न मद्दत नै पुग्छ । तर, बन्दाबन्दीलगायत प्रतिबन्धात्मक विधिले जानअन्जानमा विगतमा भएका कमजोरीले जस्तै अन्ततः देशको मेरुदण्ड मानिने अर्थतन्त्र तहसनहस मात्रै बनाउँछ ।

अर्थतन्त्र मात्र होइन कोरोनाभन्दा धेरै भयानक रोगबाट मर्नेको सङ्ख्या बढ्दै जान्छ । सामाजिक, मनोवैज्ञानिक रुपमा पार्ने दीर्घकालीन नकारात्मक प्रभावको त लेखाजोखा नै अहिले गर्न सकिँदैन । यसैले कोरोनालाई नियन्त्रण गर्ने नाममा प्रतिबन्धात्मक तरिका अपनाउने गल्ती गर्ने छुट अब हामीलाई छैन ।

त्यसै पनि यतिबेला सबै क्षेत्रमा अत्यासलाग्दो र भयावह परिस्थिति सिर्जना गर्न खोजिएको छ । हाम्रो हवाई यातायातमा मात्रै पनि निजी क्षेत्रले ठूलो लगानी गरेको छ । अहिले हवाई यात्रुका लागि व्यवस्था गरिएको एन्टिजेन, पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, फेस सिल्ड, खोप कार्ड आदि झन्झटिलो प्रावधानले यति ठूलो लगानीलाई जोखिमतिर धकेलेको छ । अमेरिकामा जस्तै मास्कलाई मात्र अनिवार्य गरे पुग्छ । 

सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा भरपर्दो मास्कको प्रयोग, साबुनपानीले हात धुने बानीलाई प्रोत्साहन गर्दै हाम्रो परम्परागत घरेलु जीवनपद्धति मात्र अँगाल्न सके कोभिडसँग दीर्घकालसम्म सुरक्षित लडाइँ लड्न सकिन्छ । लकडाउनलगायत प्रतिबन्धात्मक प्रकृतिका क्रियाकलापले कोभिडसँग त जित्न सकिँदैन नै, आधुनिकीकरण र औद्योगिकीकरणतिर घिस्रिरहेको हाम्रो अर्थतन्त्र झनै थिल्थिलो मात्र हुने हो ।

(बस्नेतसँग गरिएकाे कुराकानीमा आधारित।)  

अन्तिम अपडेट: जेठ २८, २०७९

रवीन्द्रबहादुर बस्नेत

बस्नेत प्रशिक्षक, हेलिकप्टर पाइलट तथा नेपाली सेनाका अवपकाशप्राप्त हेलिकप्टर पाइलट समेत हुनुहुन्छ । 

1 Comments

  • Khem Raj Poudel

    Jan. 23, 2022, 6:52 p.m.

    लेख अत्यन्तै सान्दर्भिक र यथार्थपरक भएकोले लेखकलाई ह्रृदयदेखि नै सलाम छ ! धन्यवाद ।🌹🙏❣️

  •  0 Reply

तपाईको प्रतिक्रिया