राष्ट्रिय सभा चुनावको मतदान सुरु : जनकपुरमा झडप

 माघ १२, २०७८ बुधबार १०:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ ।

फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

यसैबीच धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । किसानलाई मलको अभाव भएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पहिला मल दिनुपर्ने अनि मात्र मत माग्नुपर्ने बताएका छन् ।

सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका पाँच दलले प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । एमालेका खाली हुने आठ सिटमा गठबन्धन दलले भागबण्डा गरेका हुन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।

आउँदो फागुन २० गतेदेखि एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले आज चुनाव भएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया