ई पासपोर्टको आवेदन लिने तयारीमा दूतावास, अत्यावश्यक नपरी एमआरपी पासपोर्ट नवीकरण नगर्न अनुरोध

 माघ १२, २०७८ बुधबार १४:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीलाई अत्यावश्यक काम नपरी एमआरपी पासपोर्ट नवीकरण नगर्न त्यहाँ रहेका नेपाली दूतावासले अनुरोध गरेका छन् ।

विदेशमा रहेका नेपाली दूतावासमार्फत छिट्टै नै ई पासपोर्ट प्रदान गर्ने तयारी भइरहेको भन्दै दूतावासहरूले अत्यावश्यक अवस्थामा बाहेक एमआरपी पासपोर्ट नवीकरण नगर्न र केही समय कुरेर ई पासपोर्ट नै लिन भनेका हुन् । 

ओमानमा रहेको नेपाली दूतावासले आउँदो फेब्रुअरी १ तारिखबाट एक महिना भित्रै भिसा नवीकरण गर्नु पर्ने तर पासपोर्ट म्याद सकिएकाहरूको मात्र एमआरपी पासपोर्टको लागि आवेदन लिने जनाएको छ । 

केही महिना पासपोर्टको म्याद हुनेले केही समय कुरेर विद्युतीय राहदानीकै लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ । विद्युतीय राहदानी आवेदन दिएको १ महिना भित्र उपलब्ध गराउने गरी दूतावासहरूले तयारी गरिरहेका छन् ।

यस्तै साउदीमा रहेको नेपाली दूतावासले पनि पुरानो पासपोर्टको म्याद सकिइसकेको वा तुरुन्तै बिदामा नेपाल जान पर्ने वा इकामा नवीकरण गर्नुपर्ने भएको अवस्थामा मात्र एमआरपी पासपोर्ट नवीकरणका लागि आउन अनुरोध गरेको छ । 

दूतावासले छिट्टै नै विद्युतीय राहदानीको आवेदन लिने तयारी गरिरहेको भन्दै यस्तो अनुरोध गरेको हो ।

साउदीमा पनि पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेकाले दूतावासले तत्काल साउदीको कुनै पनि सहरमा राहदानीको आवेदन सङ्कलन शिविर नराख्ने जनाएको छ । 

अत्यावश्यक परी पासपोर्ट नवीकरण गर्नु परेमा साउदीको सबै सहरबाट दूतावासको कार्यालय नै जान पर्नेछ । राहदानी नवीकरणका लागि जाँदा सक्कल पासपोर्ट, पासपोर्टमा आफ्नो फोटो भएको पेज र पेज नम्बर ३१ को फोटोकपी एक एक प्रति र नागरिकताको एक प्रति पनि साथमा लैजान पर्नेछ ।

कतारमा रहेको नेपाली दूतावासले पनि तुरुन्तै यात्रा गर्नुपर्ने वा कतारी आइडी नवीकरण गर्नुपर्ने भएमा मात्र एमआरपी पासपोर्ट नवीकरणका लागि आवेदन दिन भनेको छ ।

कतारमा रहेको नेपाली दूतावासबाट ई पासपोर्टको आवेदन सङ्कलनको तयारी भइरहेको भन्दै अत्यावश्यक नपरी एमआरपी पासपोर्ट नवीकरणका लागि आवेदन नदिन भनेको हो ।

यूएईमा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक नभई एमआरपी पासपोर्ट नवीकरणका लागि नआउन र केही समय कुरेर ई पासपोर्ट नै लिन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया