चिनियाँ खाद्य सामग्रीको आयात बढ्यो

 माघ १४, २०७८ शुक्रबार १२:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १ सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । 

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्याङ्क अनुसार फलफूल तथा सागपातजन्य ४८ दशमलव ५ टन, खाद्यान्न दलहन तथा अन्य १७ दशमलव ६ टन, मसलाजन्य १३ दशमलव ८, मासुजन्य २ दशमलव ४, दूधजन्य १ दशमलव ६, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २८ टन खाद्य सामग्री आयात भएको हो । 

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा गएकाे वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको हो । 

गएकाे आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुस मसान्तसम्ममा ४४ टन मात्र खाद्य सामग्रीको आयात भएको थियो । रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ ।

कार्यालयका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा कार्यालयले १ सय ५३ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कार्तिकमा ६, मंसिरमा २८ र पुसमा २५ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो । आएका सामग्री सबै मापदण्ड अनुसारका छन् । ‘कार्यालय स्थापनाको समयमा मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथ्याे', उहाँले भन्नुभयो, ‘अहिले गुणस्तरहीन सामग्री आएको छैन ।’ 

कार्यालयले २०७५ साल माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । गएकाे आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्याङ्क छ । कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । तर अहिले दैनिक नौवटा चिनियाँ गाडी सामग्री लिएर आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया