पशुपति क्षेत्रका फूलपसल तथा टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान

 माघ २२, २०७८ शनिबार ८:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर अव्यवस्थित फूलपसल एवम् टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान गरेको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवम् टहरा राखिएको कोषले निकालेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवम् उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई समेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ ।

पशुपति क्षेत्रको मापदण्ड एवम् कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवम् बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सूचित गरेको छ ।

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफास्थलका रुपमा विकास गर्न लागेको हो ।

कोषले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवम् टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया