देशमा शान्ति स्थापनाका लागि पनि गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्छ : मन्त्री खाण

 माघ २४, २०७८ सोमबार १६:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज सोमवार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देशमा शान्ति स्थापनाका लागि पनि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

द्रुत विकासको चाहनालाई पूरा गर्न देशमा शान्ति आवश्यक रहेको भन्दै उहाँले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले देशलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताउनुभयो । संविधानले दिएको मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि पनि देशमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘गृह प्रशासन र सुरक्षामा लगाइएको प्रदान गरिने बजेटले देशलाई शान्त र सम्मुन्नत गराउन मदत गर्छ । शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । जनताका मौलिक अधिकारहरू स्थापित गर्नका लागि पनि देशमा शान्ति, सुरक्षाको त्यति नै ठूलो आवश्यकता छ । त्यस कारण गृह प्रशासन सुधार कार्ययोजना २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाणले अध्यागमन प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरूको तथ्याङ्क र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताउनुभयो । अध्यागमनका गेटहरूलाई आधुनिकीकरण गर्नुपर्ने पनि उहाँले बताउनुभयो । पछिल्लो समय भिजिट भिजामा विदेशिने र त्यहाँ गएर रोजगारीको सिलसिलामा नेपालीहरू भौतारिएका विभिन्न घटना आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूले संयुक्त रूपमा गम्भीरतापूर्वक कदम चालिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

गृहमन्त्री खाणले बदलिँदो परिवेशअनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यशैलीलाई पनि तीव्र गतिमा आधुनिकीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया