दिवंगत पत्नीको अन्त्येष्टिका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ रिहा

 भदौ २७, २०७५ बुधबार १५:१:५० | रासस
unn.prixa.net

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई दिवंगत पत्नीको अन्त्येष्टि गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरीफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा क्यान्सर रोगका कारण निधन भएको थियो । 

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरीफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लिग–नवाज –पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उहाँ पाकिस्तान फर्कनुभएको थियो ।  

शरीफ र उहाँकी छोरी मरियमलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको अन्त्येष्टि लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ । 

उनीहरु दुवैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताउनुभयो । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् । 

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरीफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उहाँको उपचार भइरहेको थियो । 

नवाज शरीफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आउनुभएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया