'पैसा हावामा उडिरहेको रहेछ, हामीले समाउन पो नजानेका रहेछौं '

 माघ २७, २०७८ बिहिबार १४:२३:३७ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – १२ वर्ष मलेसियामा रोजगारी गरेर देश फर्किएपछि चक्र कुलुङ राईलाई गाडी किनेर चलाउन मन थियो, तर श्रीमती विष्णु राईलाई लाग्यो, गाडीको काममा दाम कम हुन्छ तर दुःख र तनाव बढी हुन्छ । 

सल्लाह गर्दै जाँदा श्रीमान् र श्रीमती दुवैले बङ्गुर पाल्ने योजना बनाए । दम्पतीले बनाएको योजना अनुकूल सुरु भयो ‘फेमेली कृषि फार्म ।’ चक्र विदेशबाट फर्केको २०७४ सालमा २० हजारबाट सुरु भएको लगानी अहिले करोडभन्दा माथि पुगेको छ भने ८ वटा बङ्गुरबाट सुरु भएको खोरमा अहिले दुई सयभन्दा धेरै बङ्गुर छन् । 

बङ्गुर पालन व्यवसाय थाल्दा चक्र दम्पतीसित पहिले घरमा पाल्दा बाहेक बङ्गुर पालनको थप ज्ञान थिएन । कामले काम सिकाउँछ भन्ने आँट चाहिँ दुबैसित थियो । त्यही आँटले पहिलोपल्ट खोर बन्न थाल्यो बाँसको भाटाबाट । २० हजार रुपैयाँ लगानी गरेर सुरु भएको फार्ममा ८ वटा बङ्गुरका पाठा पाठी आए र त्यहाँ आएको आठ महिना नबित्दै ८ वटा बङ्गुरका पाठा १६ वटा भए । 

देशमै केही गर्ने हुटहुटीमा थालेको कामबाट मिलेको यो सफलताले राई दम्पतीलाई हौसला दियो । त्यस दिनदेखि फेरि कहिले पनि पछाडि फर्केर हेर्न परेको छैन उनीहरूलाई ।                                                                 

२० हजार लगानीमा ८ वटा बङ्गुरबाट थालेको व्यवसाय चार वर्षमा फैलिएर करोडभन्दा माथि पुगेको छ भने बङ्गुरको संख्या आठबाट बढेर दुई सयभन्दा बढी पुगेको छ । 

चक्र भन्नुहुन्छ ‘गर्‍यो भने असम्भव केही रहेनछ ।’

सङ्घर्षले दिलाएको सफलता

आजभन्दा १९ वर्ष अघि देशमा गरिखाने आधार केही नभएर चक्र रोजगारीको खोजीमा भौतारिदै मलेसिया पुग्नुभएको थियो । 

‘विदेश जाँदा पनि भौतारिदै गएको हो र आउँदा पनि भौतारिदै नै आएको हो’ परदेश लाग्दाको त्यो क्षण सम्झँदा चक्रको मुहारमा अहिले पनि सन्नाटा छाउँछ ।

चक्रले घर छाडेको दिन श्रीमती विष्णु १६ दिनकी सुत्केरी हुनुहुन्थ्यो । घरमा सघाउने मानिस साना दुई छोरी बाहेक अरू थिएनन् । 

‘केटी मान्छेलाई सुत्केरी समयमा साह्रै गाह्रो हुँदो रहेछ, तर म हारिन, डेढ बिघा जग्गामा खेतीपाती गरे, घरमा गाई बस्तु बाख्रा कुखुरा सबै पाले’ विष्णु विगत सम्झनुहुन्छ ।

श्रीमानले घर छाड्दा सुत्केरी ज्यानले जिम्मेवारी उठाउन विष्णुलाई जति गाह्रो भयो चक्रले पनि त्यति नै अप्ठेरो भोग्न पर्‍यो परदेशी भूमिमा ।

चक्रका लागि मलेसियाको हरेक कुरा नौलो थियो । न काम गर्ने तरिका थाहा थियो न त त्यहाँको भाषाको ज्ञान थियो । त्यसभन्दा ठुलो छटपटी त परिवारसँगको बिछोड थियो ।

‘काम त मेरो पोल्टि फार्ममा थियो, भाषा, काम नजान्दा निकै गाह्रो भयो, नयाँ ठाउँ सबै अनौठो लाग्थ्यो’ मलेसियाका सुरुवाती दिन सम्झँदै चक्र भन्नुहुन्छ ‘ती दिन सम्झँदा मनै गह्रौँ हुन्छ ।’ तर बाध्यताका पहाडले मनको पीडालाई मनैमा थिचेको थियो । परिवारकै सुखी भविष्यका निम्ति केही समय टाढा हुन परेको छ भनेर चित्त बुझाउँदै काम गर्नुहुन्थ्यो चक्र । 

काम सुरु गर्दा चार सय ७५ मलेसियन रिंगिट थियो चक्रको तलब । त्यो तलबमा पनि लेबी काटिन्थ्यो । 

यता घरमा श्रीमानले मलेसियामा कमाएकै छन् भनेर चुप लागेर बस्नुभएन श्रीमती विष्णु पनि । श्रीमानले परदेशबाट मासिक रूपमा पैसा पठाइरहेकै बेला पनि मौसम अनुसारका तरकारी खेती र कुखुरा पालन थाल्नुभयो ।

खोरमा लगभग पाँच सय कुखुरा हुन्थे । त्यसबाट भएको आम्दानीले आफ्नो खर्च पुर्‍याउनुहुन्थ्यो विष्णु । छोराछोरीलाई बोर्डिङ स्कुल पठाउनुहुन्थ्यो ।

‘महिला मान्छेलाई कसैले केही भन्छन् कि भन्ने डर चाहिँ ठुलो हुने रहेछ, आफूले गल्ती नगरे पनि लोग्ने साथमा नभएकै कारण कसैले केही भन्ने हुन् कि भन्ने ख्याल चाहिँ मनमा भइरहने रहेछ’ आज श्रीमानसित बसेर कुरा गर्दा पनि त्यो अभाव सम्झनुहुन्छ विष्णु ।

‘हामी पुर्ख्यौली घर सङ्खुवासभा छाडेर तराई बसाई सर्नुको कारण पनि बालबच्चालाई अङ्ग्रेजी स्कुल पढाउनकै लागि थियो’ विष्णु भन्नुहुन्छ ‘आफूले नेपाली स्कुल पढेकाले पनि मलाई छोराछोरी चाहिँ जसरी पनि अङ्ग्रेजी स्कुल पढाउनपर्छ भन्ने लाग्थ्यो त्यो बेला ।’

घर व्यवहार चलाउँदा कयौँ पटक श्रीमान् टाढा हुँदाको अप्ठेराहरू झेल्न पर्‍यो । कहिलेकाहीँ आफू एक्लैले समाधान गर्न नसक्ने समस्याहरू आउँथेँ । त्यस्तो बेला अरूको सहयोग लिन पनि डराउन पथ्र्यों । कसैसँग दुई पटक बोल्न पनि धेरै पटक सोच्न पथ्र्यों । 

‘महिला मान्छेलाई कसैले केही भन्छन् कि भन्ने डर चाहिँ ठुलो हुने रहेछ, आफूले गल्ती नगरे पनि लोग्ने साथमा नभएकै कारण कसैले केही भन्ने हुन् कि भन्ने ख्याल चाहिँ मनमा भइरहने रहेछ’ आज श्रीमानसित बसेर कुरा गर्दा पनि त्यो अभाव सम्झनुहुन्छ विष्णु ।

१२ वर्ष बिताउनुभयो चक्रले मलेसियामा । यसबीचमा तीन पटक गरी तीन वटै फरक फरक कम्पनीमा फरक काम गर्नुभयो । पहिलोपल्ट जाँदा पोल्टी फार्मको काम गर्नुभयो । दोस्रो पटक इलेक्टिसियनको काम गरेर घर फर्केपछि अन्तिम पटक सेक्युरिटीको काम गर्न जानुभयो । मलेसियाको हावा पानी र रहनसहन बुझेकाले पनि वैदेशिक रोजगारीको लागि एउटै गन्तव्य रोज्नु सहज लागेको थियो चक्रलाई ।

१२ वर्षको अन्तरमा राई दम्पतीको जीवनमा धेरै उतारचढाव र परिवर्तन भए । नर्सिङ पढेकी जेठी छोरी अमेरिका गइन । अमेरिका गएपछि छोरीले नै चक्रलाई भनिन् ‘बुवा अब तपाईँ विदेश नबस्नुस्, जे हुन्छ घरमै गएर गर्नुस् ।’

अब विदेशमा हैन देशमै केही गर्नपर्छ भन्ने त चक्रलाई पनि लागेकै थियो । त्यसपछि घर सल्लाह गर्नुभयो र २०७४ सालमा विदेशको बसाइलाई सधैँका लागि टुङ्ग्याएर नेपाल फर्कनुभयो ।

फेमेली कृषि फार्मको जन्म 

२२, २३ वर्षको उमेरमै परदेश हान्निएका चक्रले १२ वर्ष त मलेसियामा काम नै गर्नुभयो । यहीबीचमा पनि कहिले नेपाल त कहिले विदेश जाने प्रक्रिया भन्दा भन्दै समय गयो । अहिले ४७ वर्ष लागेका चक्रको उमेर वैदेशिक रोजगारीको चक्करबाट बाहिर आउँदा ४३ वर्षको थियो ।

परदेशी भूमिमा अरूको खटन खाएर १२ वर्ष बिताउँदा चक्रले अनुशासन र परिश्रम सिक्नुभयो । समयको महत्त्व बुझ्नुभयो । तर, परदेशमा लामो समय बिताएर देश आउँदा अब के गर्ने भनेर व्यवसायको मेसो समाउन चाहिँ निकै गाह्रो भयो । 

त्यसैले पनि चक्र आफ्नो मनले सहज ठानेको काम गाडी किन्न चाहनुहुन्थ्यो । तर विष्णुलाई गाडी अभरिलो पेसा लाग्थ्यो । कहाँ बिग्रने हो, कहाँ ठोक्किने हो र अर्को दुख आई लाग्ने हो भन्ने पिरलो साटासाट गर्दा दुवैको मन बङ्गुर पालनलाई व्यवसाय बनाउने निष्कर्षमा पुगेर टुङ्गियो ।

रामधुनी नगरपालिकाको पाञ्चायन झोडामा जग्गा र घर थियो । बङ्गुर पालनका लागि आफ्नै जग्गामा बासले बेरेर खोर बनाउनुभयो । 

बङ्गुर पालन मासुका लागि गर्ने चक्रको योजना थियो । त्यही अनुसार २० हजार रुपैयाँमा ८ वटा बङ्गुरका पाठा पाठी किनेर ल्याउनुभयो । गर्दै जाँदा बङ्गुर पालन व्यवसायमा नसोचेको सफलता मिल्यो । ८ वटा बङ्गुरबाट ८ महिनाको अवधिमा १६ वटा भए । त्यो बेला राई दम्पतीलाई लाग्यो, मेहनत गर्‍यो भने हुने रहेछ ।

उनीहरूले व्यवसायलाई थप बढाउन चाहे । तर उपयुक्त किसिमका पाठा पाठी नपाउने समस्या भयो । आफूले चाहे जति पाठा पाठी नपाएपछि राई दम्पतीले मासु उत्पादनभन्दा पनि पाठा पाठी उत्पादनमा अझै ठूलो अवसर देखे । 

चार वर्षको अन्तरालमा मिलेको सफलताले भने चक्र र विष्णुलाई उत्साहित बनाएको छ । बङ्गुर त सबैले पाल्छन् तर अरुकोभन्दा फरक छ चक्रको फेमेली कृषि फार्म ।

‘पाठा पाठी नपाउने जुन समस्या हामीले भोग्यौँ त्यो समस्या त अरू धेरैले भोग्नुभएको होला भन्ने लाग्यो, हाम्रो खोर नै खालि हुने अवस्था आएपछि हामीले पाठा पाठी उत्पादन थालेका हौँ’ राई दम्पती छुनुमुनु गरिरहेका बङ्गुरका पाठातिर हेर्दै भन्छन् । 

चार वर्षको अन्तरालमा मिलेको सफलताले भने चक्र र विष्णुलाई उत्साहित बनाएको छ । बङ्गुर त सबैले पाल्छन् तर अरुकोभन्दा फरक छ चक्रको फेमेली कृषि फार्म ।

अघिल्तिर सफा चौर । झ्याम्म परेका लिच्चि र लहरे आँपको रुखको बारबेरा । अन्य ससाना बिरुवाहरू हुर्कँदै छन् । फार्मभित्र छिर्न पहिलो नियम छ मुखमा मास्क र हातमा स्यानिटाइजर लगाउन पर्ने । यति मात्र होइन फार्ममा पस्न जो कोहीले पालना गर्नुपर्ने नियमहरूको सूचना पाटी नै राखिएको छ । पाटीमा लेखिएको छ “बङ्गुरलाई छुन वा सुमसुम्याउन पाइँदैन, फार्मभित्र ठुलो आवाजले बोल्न, चुरोट, खैनी र गुट्खाजस्ता सुर्तीजन्य पदार्थ खान पाइँदैन ।”  

फार्ममा दुइटा लामा र चौडा बङ्गुर पाल्ने भवन जस्ता टहरा छन् । माथिल्लो टहरामा ठुलठुला बङ्गुरहरू छन् । कोही लम्पसार परेर सुतिरहेका छन् त केही मानिस देखेपछि कराउन थाल्छन् । माथिल्लो टहरामा भाले र गर्भिणी बङ्गुरहरू राखिएको छ ।

तल्लो टहरामा भने सेता, काला र खैरो रङ्गका बङ्गुरका सफा, चिल्ला र पुक्लुक्क परेका लोभ लाग्दा सयौँ पाठाहरू छुनुमुनु गरिरहेका देखिन्छन् । उनीहरूका माउ पनि उस्तै सफा र चिटिक्क परेका । 

खोरको ढोकैमा बङ्गुरको प्रकार, उनीहरूले बच्चा पाएको मिति लगायतका जानकारी पनि लेखेर राखिएको छ । चक्रका अनुसार बङ्गुरका विभिन्न जात हुन्छन् । उहाँको फर्ममा चाहिँ हेमसार, लेन्डेन्स, योगसार, डुरोक्क र पाख्रिबास गरी उन्नत पाँच जातका बङ्गुर छन् । 

चक्रलाई पनि आफैँले पालन नगर्दासम्म बङ्गुरका यति धेरै जात हुन्छन् भन्ने थाहा थिएन । तर अहिलेको कामले उहाँलाई बङ्गुरबारे हर कुरा सिकाएको छ । बङ्गुरको हरेक भाषा बुझ्नुहुन्छ । बङ्गुरको उपचारदेखि प्राविधिकले गर्ने हरेक काम आफैँ गर्नुहुन्छ । यो काम आफ्नो फार्मसँगै अरूकोमा समेत गएर गर्नुहुन्छ । 

नामजस्तै अहिले त चक्रको फार्ममा बङ्गुरको परिवार पनि ठुलो भएको छ । फार्ममा सरदर दुई सय भन्दा धेरै बङ्गुरका पाठा र उनीहरूका माउ छन् ।  चार वटा भाले बङ्गुर छन् । 

‘मलाई त अहिले रोजगारीजस्तै भएको छ, म बङ्गुरको उपचार, एआई (आर्टिफिसियल इन्सेमिनेसन अथवा कृत्रिम गर्भाधान) देखि बङ्गुर खसी पार्ने सम्मका सबै काम आफैँ गर्छु, चिनजानको ठाउँमा मलाई प्राविधिकको रूपमा बोलाउनुहुन्छ, अरूले लिनेभन्दा कम पैसामा काम पनि गरिरहेको छु’ सन्तुष्ट मुद्रामा चक्र भन्नुहुन्छ ‘तपाईँले गरेको उपचार राम्रो हुन्छ भन्नुहुन्छ, मलाई एकदमै खुसी लाग्छ ।’

‘फेमेली कृषि फार्म’ को नाम राई दम्पतीलाई एक अर्कासँग टाढा भएर दुःख गर्नुपर्दाको पीडाले दिएको हो । चक्रले मलेसियामा दुःख गर्नुभयो । विष्णुले घरमा ।

त्यो बेला दुवैको सङ्घर्ष दुईतिर थियो । तर अब एकै ठाउँमा आफ्नै घरमा परिवारसँगै बसेर सुख दुःख गरिन्छ भने नाम पनि परिवार नै राख्नपर्छ भन्ने लाग्यो उनीहरूलाई ।

नामजस्तै अहिले त चक्रको फार्ममा बङ्गुरको परिवार पनि ठुलो भएको छ । फार्ममा सरदर दुई सय भन्दा धेरै बङ्गुरका पाठा र उनीहरूका माउ छन् ।  चार वटा भाले बङ्गुर छन् । 

चक्रले बेचेका बङ्गुरका पाठाहरूबाट धेरैले राम्रो व्यवसाय पनि गरिरहेका छन् । विदेशबाट फर्किएका हुन् या कृषिको तालिम गर्नेहरू, चक्रको फेमेली कृषि फार्म उनीहरूको अवलोकन भ्रमणमा परि हाल्छ ।

फार्ममा रोजगारी पनि एउटा परिवारलाई नै दिनुभएको छ चक्रले । उनीहरू चक्रकै घरमा बस्छन् । एउटै भाँडोमा पाकेको खाना खान्छन् । चक्र भन्नुहुन्छ ‘परिवारको महत्त्व हामीले बुझेका छौँ, त्यसैले हामीले रोजगारी पनि परिवारलाई नै दिएका हौँ ।’

फार्ममा  काम गर्नेको चार बालबच्चा र श्रीमान् श्रीमती छन् । अहिले चक्रको भने घरमा एक छोरा र श्रीमान् श्रीमती मात्र छन् । दुवै परिवार मिलेर फार्मको काम गर्छन् ।

काम गर्ने जति हरेकले आफ्नो मेहनत अनुसारको पारिश्रमिक पाउँछन् । चक्र आफै काम गर्नुहुन्छ र कामको तलब लिनु हुन्छ । छोरा र श्रीमतीले गरेको कामको पनि हिसाब अनुसार मासिक तलब पाउँछन् । किनमेल र आम्दानी खर्चको हिसाब किताब हरेक साँझ हुन्छ । 

‘हरहिसाबको जिम्मेवारी मेरो छ, महिनाभरिको हिसाब एक दिन गर्छौँ र हामी सबैजना मिटिङ बसेर नाफा घाटा सबै कुरा साटासाट गर्छौँ’ चक्र भन्नुहुन्छ ।

सिस्टममा काम गर्नुपर्छ

काममा कुनै पनि सम्झौता गर्नुहुन्न भन्ने लाग्छ चक्रलाई । काम गर्ने सिस्टम हुनुपर्छ भन्ने सिद्धान्त बनाउनुभएको छ उहाँले । धेरैले बङ्गुर पालन व्यवसाय जातले दिएको पेसा हो भनेर परम्परागत हिसाबले पाल्ने गर्छन् । तर चक्रलाई भने त्यही प्रवृत्तिले सफलता नमिलेको हो जस्तो लाग्छ । 

बाल्यकालदेखि नै घरमा बङ्गुर पालेको देख्दै आउनुभएको हो चक्रले पनि । तर त्यो व्यावसायिक हिसाबले गरिएको थिएन । त्यसबाट कुनै प्रतिफल पनि पाइँदैन थियो । 

अहिले आफूले व्यावसायिक रूपमा त्यही काम गर्दा विदेश जानै नपर्ने रहेछ भन्ने लागेको छ राई दम्पतीलाई ।

चक्र बिहान उठेर बङ्गुरको स्याहारमा लाग्नुहुन्छ । बिहानको समयमा दाना दिने र सफाइ गर्ने दुई काम हुन्छ । त्यसको पनि समय हुन्छ । यो काम तोकिएकै समयमा गर्नुपर्छ । त्यसपछि भने बङ्गुरहरू आराम गर्छन् । चक्र आफ्नो अन्य काम भ्याउनुहुन्छ । साथीभाइ भेटघाट, मिटिङदेखि अन्य विविध काम जे जे भए पनि चक्र फेरि दिउँसोको ४ बज्दा फार्ममा पुगिसक्नुहुन्छ । ४ बजे दानाको समय हुन्छ । दाना दिने र सरसफाइको समयमा चक्रलाई आफू उपस्थित नभई चित्त बुझ्दैन ।

बङ्गुरलाई जति सफा राख्न सक्यो त्यत्ति नै रोगबाट बचाउन सकिन्छ । फोहोरमा राख्दा विभिन्न प्रकारका रोग लाग्छन् र त्यहीबाट घाटा सुरु हुन्छ । बङ्गुरलाई छुने, सुमसुम्याउने गर्न हुँदैन । चक्र भन्नुहुन्छ ‘मलाई पनि यस्तो कुराहरू केही थाहा थिएन, यो सबै कामले काम सिकाएको हो ।’

‘मेरो फार्मबाट लगेका पाठाहरू राम्रो भएर त होला नि फलानाले लगेको जस्तै पाठा मलाई पनि दिनुस् न भन्दै किन्न आउनुहुन्छ’ चक्र मुस्कुराउँदै भन्नुहुन्छ ‘मेरो त मार्केटिङ पनि यसरी नै भएको छ ।’

खेतीपाती गर्दा होस् या अन्य केही पनि काम । आधुनिक हिसाबले गर्न पर्छ भन्नुहुन्छ उहाँ । बङ्गुर पालन मात्र होइन धान खेती नै गर्दा पनि आधुनिक हिसाबबाट गर्न सके त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । 

‘हामीले त एउटा बाटो अपनाएका मात्रै हौँ, यहाँ सम्भावना हर कुरामा छ, कुखुरा पाल्नुहोस् या खेती नै गर्नुहोस् बस आधुनिक हिसाबले मेहनत गरेर गर्नुहोस्’ चक्र भन्नुहुन्छ ‘जे गरे पनि एउटा काम गर्नुपर्छ अनि मात्र त्यसमा क्वालिटी दिन सकिन्छ ।’ चक्रलाई पनि यो ज्ञान वैदेशिक रोजगारीले दिएको हो । 

एउटा स्वस्थ् बङ्गुरले एकपल्टमा २० देखि २१ वटासम्म बच्चा पाउन सक्छ । र, वर्षमा दुईपल्ट सन्तान जन्माउँछ । तर धेरै बच्चा पायो भनेर खुसी हुनेभन्दा पनि त्यसले आफ्नो बच्चालाई दूध पुर्‍याउन सक्छ कि सक्दैन भनेर सचेत हुन सुझाउनुहुन्छ चक्र । १० देखि १२ वटा बच्चालाई माउ बङ्गुरले राम्रोसँग आहारा पुर्‍याउन सक्छ । 

उहाँको फार्ममा रहेका माउ बङ्गुरले १५/१६ वटा सम्म बच्चा पाउँछन् । पहिलो बेतकाले भने ८ देखि १० वटासम्म पठा पाठी जन्माउँछ । चक्रलाई पाठाको माग धान्नै धौ धौ छ अहिले । विभिन्न ठाउँबाट उहाँको फार्ममा पाठा पाठी लिन आइपुग्छन् । 

‘मेरो फार्मबाट लगेका पाठाहरू राम्रो भएर त होला नि फलानाले लगेको जस्तै पाठा मलाई पनि दिनुस् न भन्दै किन्न आउनुहुन्छ’ चक्र मुस्कुराउँदै भन्नुहुन्छ ‘मेरो त मार्केटिङ पनि यसरी नै भएको छ ।’

फार्ममा चक्रले चाहेका सब थोक छन् 

चक्रको मुख्य व्यवसाय बङ्गुर पालन भए पनि आफ्नो फार्ममा उहाँले विभिन्न किसिमका फलफूलदेखि माछा पालन र कुखुरा पालन समेत गर्नुभएको छ । कतिपय फलफूलका बिरुवा त उहाँले मलेसियाबाटै ल्याउनुभएको हो । 

उहाँको फार्ममा मलेसियन लहरे आँपदेखि पूर्वी एसियाको प्रसिद्ध फल डुरियन समेत लगाउनुभएको छ । 

कोरोना महामारी अघिसम्म काठमाण्डौका पाँचतारे होटलमा लहरे आँपको माग थियो । किलोको ८ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्थ्यो । तर कोरोनाले उत्पादन भएको आँपसमेत बिकेन । बगैँचामा ड्रागन फ्रुट्सदेखि स्ट्राबेरी लगायत आफ्नो चाहना अनुसारका फलफूल र कफीको समेत परीक्षण गरिरहनुभएको छ चक्रले ।

पछिल्लो समय पाँच वटा माछा पोखरीमा विभिन्न प्रकारका माछासमेत राख्नुभएको छ । तर यसबाट आम्दानी भने हुन थालेको छैन । अहिले परीक्षणको रूपमा माछा पालन थालेको चक्र बताउनुहुन्छ ।

बङ्गुरले नै नाम र दाम दुवै दिएको छ चक्रलाई अहिले । वर्षमा १२/१३ सय पाठा पाठी बेच्नुहुन्छ । अहिले खोरमा डेढ सय भन्दा बढी पाठा पाठी बिक्रीका लागि तयार हुँदै छन् । राम्रो दाना पानी पुगेमा वर्षमा दुई पटक पाठा पाठी बेच्नका लागि तयार हुन्छन् ।

पाठा पाठीको मूल्य पनि ग्रेड अनुसारको हुन्छ । फस्ट ग्रेडको भएमा १२/१३ हजार रुपैयाँमा बिक्छ एउटा पाठा । अहिले चक्रको फार्ममा लगानी एक करोड रुपैयाँ नाघेको छ भने वर्षमा सरदर २० लाख रुपैयाँसम्म नाफा हुन्छ ।  

भन्नुहुन्छ ‘विदेशमा भन्दा त चौगुना छ कमाइ, उता कमाएको महिना मर्दा सकिन्थ्यो तर यहाँ सिस्टममा बसेर व्यवसाय गर्दा फाइदा हुने रहेछ ।’

लामो समय विदेश बसेर नकमाएको पैसा र इज्जत देश फर्केको चार वर्षमै कमाएका चक्र भन्नुहुन्छ ‘पैसा त हाम्रो देशमा हावामा उडिरहेको रहेछ, हामी नेपालीले समाउन मात्र नजानेका रहेछौँ ।’

राई दम्पती आफ्ना सन्तानसँग पनि खुसी छन् । एउटी छोरी विराटनगर बसेर अध्ययन गरिरहेकी छन् । जेठी छोरी अमेरिकामा बस्छिन् । कान्छो छोरा भने बुवाआमालाई काममा सघाउँदै पढ्दै पनि छन् ।

‘हामीले दुःखले पढाए अनुसार छोराछोरीले पनि राम्रो लय समातेका छन्, सबैले राम्रो गरे, म त एकदम सन्तुष्ट छु, अहिले त हाम्रो यति ठुलो संसार आफ्नै देशमा भइसक्यो, छोराछोरीले दिएको खुसी अनि यो व्यवसाय सम्झँदा विगतमा भोगेका सबै दुःख बिर्सन्छु नि हाउ !’ सन्तुष्ट मुद्रामा विष्णु भन्नुहुन्छ । 

परिवारसँग टाढा बसेर गरेका सङ्घर्षका ती दिन सम्झँदा अनि अहिले पनि रोजगारीको खोजीमा दिनहुँ लर्को लागेर युवाहरू परदेश हिँडेको देख्दा चक्रको मन पोल्छ ।

त्यसैले पनि वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरूले देशमै केही गर्छु भनेर आएमा आफ्नो अनुभव सुनाउनुहुन्छ । देशमै गर्न सकिन्छ भन्ने प्रेरणा र आवश्यकता भएकालाई सहयोग पनि गर्नुहुन्छ । 

अरू देशले माटो भएको जमिन नपाउँदा समुन्द्रमाथि खेती गरेको देखेका चक्रलाई देशमै सम्भावनाको खानी छ भन्ने लागेको छ । र, अहिले त्यो कुरा प्रमाणित पनि गरिसक्नुभएको छ ।

‘युवाहरू विदेश गएर गाउँ गाउँका जग्गा बाझो छ, विदेश नजानुहोस् म भन्दिन तर विदेशमा सिकेको सीप र अनुभव नेपाल फर्किएर प्रयोग गर्ने हो भने असम्भव केही छैन’ । 

लामो समय विदेश बसेर नकमाएको पैसा र इज्जत देश फर्केको चार वर्षमै कमाएका चक्र भन्नुहुन्छ ‘पैसा त हाम्रो देशमा हावामा उडिरहेको रहेछ, हामी नेपालीले समाउन मात्र नजानेका रहेछौँ ।’

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

2 Comments

  • Seira Mayik

    Feb. 13, 2022, 2:30 p.m.

    अरुलाई प्रोत्साहन गर्न सक्ने नमूना लेख...

  •  0 Reply
  • Durga raj rai

    Feb. 11, 2022, 1:29 p.m.

    सार्है खुशी लाग्यो, धन्यवाद संजिता जी /

  •  0 Reply

तपाईको प्रतिक्रिया