अख्तियार स्थापना दिवस : एक वर्षमा भ्रष्टाचार सम्बन्धी २४ हजारभन्दा धेरै उजुरी

 माघ २८, २०७८ शुक्रबार ९:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज स्थापना दिवस मनाउँदैछ ।

भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो ।

आयोगको एकतीसौँ वार्षिकउत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षिण एसियामा नेपाल भ्रष्टाचार नियन्त्रण सूचकाङ्कमा न्यून स्तरमा रहनु गम्भीर चिन्ताको विषय रहेको भन्दै भ्रष्टाचारलाई रोक्न प्रतिबद्ध भएर काम गर्न पनि आयोगलाई आग्रह गर्नुभयो ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका बहुआयामिक स्वरुप, कारण र प्रभावबारे विधि र प्रविधिमार्फत् आयोगको जिम्मेवारी पूरा गर्ने गरी संस्थागत रणनीतिक योजना तथा कार्ययोजना कार्यान्वयनमा रहेको बताउनुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फर्स्याैट गरेको छ । यस अवधिमा फर्स्याैट भएका उजुरी प्रतिशत दर ६४ दशमलव २७ प्रतिशत रहेको छ।

अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा देखिएको छ । अख्तियारका अनुसार स्थानीय तहमा ३२ दशमलव ८३ प्रतिशत उजुरी रहेका छन् । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल एक सय १७औँ स्थानमा छ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेशनलले माघ ११ गते सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२१ मा नेपालले सयमा ३३ अङ्क पाएको छ । अघिल्लो वर्ष पनि नेपाल यही स्थानमा थियो।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया